माधव पक्षले स्पष्टिकरण नदिने , के होला एमाले विवाद ?
१० जेठ काठमाडौं । अहिले फुटको संघारमा पुगेको नेकपा एमालेको खनाल–नेपाल पक्षका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नदिने भएका छन् । नेकपा एमालेले खनाल–नेपाल समूहका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन शनिबार पत्र पठाएको थियो ।
पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको खनाल–नेपाल समूहका नेता भीम रावलले टिप्पणी बताए ।
‘स्वयम् केपी शर्मा ओली एमालेको अवैध अध्यक्ष भइसक्नुभएको छ । कार्यकर्ताको मनोबल गिराउने र एकपछि अर्को असंवैधानिक कदम अघि बढाउने काम पटक–पटक गरिरहनुभएको छ’ नेता रावलले भने, ‘त्यसैले अवैध अध्यक्षले सोधेको स्पष्टीकरण दिइरहनुपर्ने जरुरी छैन र हामी स्पष्टीकरण पनि दिँदैनौँ ।’
त्यस्तै नेता रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्पष्टीकरण दिनुपर्ने बताए । पार्टीलाई निजी कम्पनी जस्तो बनाउनुको कारण, नवौं राष्ट्रिय महाधिवेशनपछिको संरचना भत्काउनुको कारण, संविधानमाथि बारम्बार प्रहार गर्नुको कारण, पार्टी विधान विपरीत गतिविधि गर्नुपर्ने कारणलगायतका विषयमा केपी शर्मा ओलीले स्पष्टीकरण दिनुपर्ने नेता रावलको तर्क छ ।
आफूहरुले पार्टी एकताका लागि अन्तिम प्रयास गर्दासमेत पार्टीको हित विपरीत गतिविधि बन्द नभएकोले केपी शर्मा ओलीलाई वैध अध्यक्ष मान्न नसकिने र ओलीले नै सबैसामु स्पष्टीकरण दिनुपर्ने नेता रावलको भनाइ छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विभिन्न तीन वटा प्रश्नसहित २४ घण्टाभित्र स्पष्टीकरण उपलब्ध गराउन खनाल–नेपाल समूहका ११ जना प्रतिनिधि सभा सांसदलाई शनिबार पत्र पठाएका थिए ।
स्पष्टीकरणमा गत वैशाख २७ गते प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुनुपर्ने कारण, राष्ट्रियसभा चुनावमा सूर्य चिन्ह लिएर पार्टीबाट उम्मेद्वारी दिएका रामबहादुर थापा बादललाई मतदान नगर्नुका कारण र जेठ ७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुका कारणबारे प्रश्न सोधिएको छ ।