संवैधानिक इजलासमा न्यायाधीश फेरिएनन्
१८ जेठ काठमाडौं।अहिले संवैधानिक इजलासका न्यायाधीशको विषयमा विपक्षीले प्रश्न उठाएको भए पनि इजलासमा न्यायाधीश परिवर्तन भएनन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले पुरानै न्यायाधीशहरु यथावत राखी सुनुवाइ सुरु गरेका छन् ।
मंगलबार पनि प्रधानन्यायाधीशको नेतृत्वमा दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर के सी र बमकुमार श्रेष्ठ रहेको संवैधानिक इजलासले सुनुवाइ गरिरहेको छ ।
यसअघि नेकपा विभाजन हुने गरी फैसला गर्ने न्यायाधीश इजलासमा भएको भन्दै रिट दायरकर्ताका पक्षका कानुन व्यवसायीहरूले प्रश्न उठाएका थिए ।
ऋषि कट्टेलले दायर गरेको नेकपाको नाम सम्बन्धी विवादको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठले फैसला गरेका थिए जुन फैसलाले नेकपा विभाजित भएको थियो ।
उनीहरुले न्यायाधीश श्रेष्ठ इजलासमा बस्न नहुने माग गरेका थिए । तर, महान्यायाधिवक्ता रमेश बडालले न्यायाधीश परिवर्तन गर्न नहुने अडान लिएपछि इजलास हेर्दाहेर्दैमा टुंगिएको थियो ।
प्रधानन्यायाधीश राणाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश र प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धी रिटको सुनुवाई गर्ने संवैधानिक इजलासममा आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर केसी र बमकुमार श्रेष्ठ छानेका थिए ।