रेल र पानी जहाज लकडानपछि चल्छ – मन्त्री नेम्बाङ


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १९ २०७८
6.7K
SHARES

१९ जेठ काठमाडौ । आज निषेधाज्ञा (लकडाउन) पछि नेपालमा रेल र पानी जहाज चल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले बताएका छन् ।  मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै लकडाउनपछि जनकपुर–जयनगर रेल र पानी जहाज नेपालमा चलाईने उनले बताए ।

उनले भने, ‘जनकपुर–जयनगर रेल सञ्चालनका लागि दश अर्ब बजेट छुट्याइएको छ । उक्त बजेट रेल सञ्चालन र निर्माणका लागि छुट्याइएको छ । ठेक्का पठ्ठाका कामहरु भइसकेका छन् ।’

यसैगरी केरुङ-काठमाडौ रेलमार्गबारे पनि दुई छिमेकी देशबीच सम्झौता गरिएको उनले बताएका छन् । भारत र चीन पक्षसँग रेल सञ्चालनबारे सम्झौता भएको उनले बताए ।

नेपालमा पानी जहाजको कार्यालय स्थापना भइसकेको बताउँदै अब अन्य देशमा मात्र नभएर नेपालमै पानी जहाज हुने मन्त्री नेम्बाङले बताएका छन् । उनका अनुसार पानी जहाज ऐनको ड्राफ्ट पनि पूरा भइसकेको अवस्था छ ।

उनले भने, ‘कोशी, गण्डकी, नारायणी, कर्णाली नदी रहेका छन् । यी नदीहरुमा पनि निजी क्षेत्रबाट पनि जेटबोट/जहाज चलाउन सकिनेबारे छलफल गरिरहेका छौँ ।
यसका लागि ठाउँठाउँमा टर्मिनल बनाउने, जेटबोटको कनेक्टेभिटी कहाँसम्म फैलाउनेभन्नेबारेमा भारतसँग पनि सहकार्य गर्न सक्छौँ ।’ यस विषयमा लकडाउनपछि अर्थात् आर्थिक वर्षभित्रै सबै कुराको चाँजोपाँजो मिलाउने पनि मन्त्री नेम्बाङले बताए ।