आज पनि बसेन संवैधानिक इजलास


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २५ २०७८
4.3K
SHARES

२५ जेठ काठमाडौं।आजपनि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइको लागि गठित संवैधानिक इजलास बस्न सकेन। न्यायाधीश विवादका कारण लामो समयदेखि प्रभावित हुँदै आएको इजलास पूर्व सूचना विना सोमबार पनि स्थगित गरिएको थियो।

मंगलबार पनि संवैधानिक इजलास नबस्नुको कारण खुलेको छैन। दोस्रो पटक गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध परेको ३० वटा रिट निवेदनको सुनुवाइका लागि दुई पटक गठन भएको संवैधानिक इजलास विवादमा परेपछि पेशी नै तोकिन छाडेको हो।

पहिलो पटक जेठ १४ गते गठन भएको इजलासमा रहेका न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठप्रति १४६ जना सांसदका वकिलले प्रश्न उठाएका थिए भने आइतबार गठन भएको इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्द मोहन भट्टराईको उपस्थितिप्रति सरकारी पक्षले प्रश्न उठाएका छन्।

कार्की र भट्टराईका बारेमा आइतबार बहस भएर सोमबार (हिजो) इजलासमा रहने कि नरहने भन्ने निर्णय हुनुपर्ने भए पनि प्रधानन्यायाधीश अस्वस्थ्य भएपछि इजलास बस्न नसकेको सर्वोच्चले जनाएको छ। स्रोतका अनुसार कार्की र भट्टराईले सरकारी पक्षले भने झैँ इजलास छाड्ने सम्भावना कम रहेको छ।

मंगलबारका हकमा भने सोमबार नै बुधबारका लागि पेशी राखिएको सवोच्चले स्रोतले बतायो। तर उक्त कुरा सर्वोच्चको अनलाइन पेशी सूचिमा चढाइएको छैन।