बी एण्ड सीलाई सम्बन्धन दिए सत्याग्रह गर्छु – डा. केसी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २८ २०७८
13.6K
SHARES

२८ जेठ काठमाडौं । बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिए सत्याग्रह गर्ने डाक्टर गोविन्द केसी चेतावनी दिएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै डा. केसीले यस्तो चेतावनी दिएका हुन ।

बी एन्ड सी मेडिकल कलेजलाई चोर बाटोबाट सम्बन्धन प्रदान गर्ने नियतले चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक डाकेको पत्रमा डा. केसीले उल्लेख गरेका छन् ।

उनले पत्रमा लेखेका छन्, ‘नेपाली नागरिकहरुले यहाँलाई मत प्रदान गरी देशको कार्यकारी बनाइ तलब, भत्ता, महँगो स्वास्थ्योपचारको खर्चको लागि कर तिरिरहेका छन्। तर स्वास्थ्य माफियाहरुको चंगुलमा परेर संविधान, लोकतन्त्र, तथा विधिको शासन बर्खिलाप हुने गरी यहाँले आम नागरिकहरुको हितमा कार्य गर्नुको सट्टा अहित हुने कार्यमा निरन्तर लागिरहनुभयो।

खासमा यहाँले कोभिडको दोस्रो लहरको महामारीमा सम्पूर्ण राज्य संयन्त्र लगाएर आम–नेपालीहरुको जीवन रक्षार्थ तथा चिकित्सा शिक्षा ऐनको प्रावधान अनुरुप प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण गर्न लाग्नुपर्ने थियो।’

डा. केसीले आफ्नो खुल्ला पत्रमा अगाडि लेखेका छन्, ‘आयोगको अध्यक्षको हैसियतले बी एन्ड सी मेडिकल कलेजका सञ्‍चालकलाई हाम्रा साथीहरु तथा आयोगका पदाधिकारीहरुलाई बारम्बार ज्यानको धम्की दिएबापत कारबाही गर्नुपर्ने थियो। तर यहाँले आफ्नो पदको दुरुपयोग गरी तिनै संचालकलाई पुरस्कृत गर्न उचित ठान्नुभयो। यस्तो लुटतान्त्रिक कार्य सभ्य समाजमा कदापि स्वीकार्य हुनेछैन।’