यस कारण आजदेखि मेलम्चीको पानी नआउने


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १ २०७८
5.6K
SHARES

१ असार काठमाडौं ।आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउने छैन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका कार्यकारी निर्देशक मिलन शाक्यका अनुसार पानी आउने सुरुङ परीक्षण गरिने भएकाले पानी वितरण नगरिने भएको हो । उनका अनुसार केयूकेएल अन्तर्गतका दुईलाख ३० हजार उपभोक्ता भनेजति पानी उपभोग गर्नबाट बञ्चित हुने छन् ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्त पानी वितरण भएकै अवस्थामा सुरुङको मर्मत सम्भार गर्न सकिँदैन । ‘‘पानी पठाएको केही दिनमै वा केही महिना मै परीक्षण गरिनुपर्ने थियो । तर, पानी पठाएको तीन महिनासम्म पनि सुरुङ परीक्षण  गरिएन,” प्रवक्ता पन्तले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्न हतार गर्दा यस्तो अवस्था आएको हो । चैत १५ गते केयुकेएलले एकसाथ चुच्चेपाटीको महाँकालको पानी ट्यांकीबाट उपत्यकामा पानी वितरण थालेको थियो । फेरी पछि केयूकेएलले गरेको उद्घाटनको आपत्ति जनाउँदै  राष्ट्रपतिद्वारा उद्घाटन गरियो । परीक्षणकै समयमा मेलम्चीको पानी उद्घाटन गर्न नहुने गुनासो उतिखेरै आएको थियो ।

अब दुई महिनाजति उपत्यकाबासीले मेलम्चीको पानी उपभोग गर्न पाउने छैनन् । प्रवक्ता पन्तका अनुसार सुरुङ खालि गर्न करिब १५ दिन लाग्छ । ‘‘त्यसपछि विज्ञहरुको टोलीद्वारा अनुसन्धान थालिनेछ । अनुसन्धानपछि आएका समस्याहरुलाई समाधान गरिनेछ । सुरुङको परीक्षण सकिएपछि सुरुङमा पानी भर्न उत्तिकै समय लाग्छ,” प्रवक्ता पन्तले भने ।

सरकारले मेलम्चीको पानी उपत्यकामा आएको उपलक्ष्यमा परीक्षण नै नगरी तीनपटक उद्घाटन गरेको थियो । उतिखेरै सुरुङ परीक्षणलाई प्राथमिकतामा नराख्दा अहिले पुनः परीक्षण गर्नुपरेको हो । दिगो रुपले परीक्षण नगरी तीन महिनासम्म उपत्यकामा यत्तिकै पानी पठाइयो ।

केयूकेएलले माकलबारी आसपासमा क्षेत्रमा पानी वितरण गर्दा सामान्य रुपमा ब्यानर टाँसेर शुभारम्भ गरेको थियो । उक्त उद्घाटनलाई मन्त्रालयले ब्यानर टाँसेर शुभारम्भ गर्न नहुने भन्दै फेरी उद्घाटन गरिएको थियो । चैत २० गते मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरियो  ।

त्यसपछि पानी वितरण गर्ने क्रममा उपत्यकाका सडकमा पानी चुहावट भएको थियो । ठूलो परिमाणमा मेलम्चीको पानी सडकमा चुहावट हुँदा सडक विभागले समेत आपत्ति जनाएको थियो ।  चरणबद्ध रुपमा पानी बढाउँदै दैनिक १७ करोड लिटर पानी उपत्यकाबासीले उपभोग गर्दै आएका थिए ।