अहिले सरुवा–बढुवामा गृहमन्त्रीको ‘नो इन्टरेष्ट’


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १ २०७८
6.1K
SHARES

१ असार काठमाडौ । पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सरुवा र बढुवा सधै विवादित बन्ने गरेको छ । उच्च राजनीतिक हस्तक्षेप हुँदा निकटतालाई प्राथमिकता दिँदा विवादित बन्ने गरेको हो ।

अहिले पनि नेपाल प्रहरीमा प्रदेश प्रहरी प्रमुखको रुपमा डीआइजी र जिल्ला प्रमुखको रुपमा एसपी र डीएसपीको सरुवा गर्ने बेला भएको छ । केही बढुवा पनि गर्नु पर्नेछ ।

चार दिनअघि मात्र गृहमन्त्रीको जिम्मेवारी सम्हालेका खगराज अधिकारी भने प्रहरीको सरुवा बढुवामा आफ्नो कुनै रुची नभएको बताउँछन् । मंगलबार पत्रकारहरुसित कुराकानी गर्दै उनले भने, ‘प्रहरीको सरुवा–बढुवामा मेरो कुनै रुची छैन ।’

गृह जिल्ला कास्कीको प्रहरी प्रमुख बनाउनका लागि दवाव आएको संकेत गर्दै मन्त्री अधिकारीले आफ्नै जिल्लामा को पठाउने भन्ने विषय समेत आफ्नो सरोकारको विषय नभएको बताए ।

अनुभव, कार्यशैली, क्षमताका आधारमा सरुवा र बढुवा गर्ने पद्दतिको विकास गरेर अघि बढ्ने विषयमा आफूू ढुक्क भएको मन्त्री अधिकारीको भनाइ थियो ।

प्रहरीको सरुवा बढुवामा पूर्वगृहमन्त्री, मन्त्री र नेताहरुको दवाव भने बढी नै रहेको उनको भनाइबाट बुझिन्थ्यो । उनले भने, ‘उच्च व्यक्तिहरुकै रुची भने बढी नै भइरहेको पाएँ ।’

नेकपा एमालेका माधव नेपाल समूहका नेताहरुको समेत प्रस्ताव आएको उनको भनाइ थियो । माधव नेपाल पक्षले भनेका व्यक्तिहरुको सरुवा बढुवा गर्दा पार्टी एकतामा बल पुग्ने हो कि भन्ने पनि आफूलाई लागेको उनको भनाइ थियो ।

देशको सीमा सुरक्षा, सीमामा हुने अपराध न्यूनीकरण जस्ता विषयमा सरकार गम्भीर रहेको भन्दै उनले देशमा शान्ति सुरक्षा, अमनचयन कायम गर्दै अपराध अनुसन्धान, नियन्त्रण गर्ने विषयमा गृह प्रशासन दृढ संकल्पका साथ लाग्ने बताए ।

आगामी निर्वाचन भयरहित निष्पक्ष रुपमा गर्नका लागि सरकार तयार रहेको भन्दै उनले निर्वाचनका लागि सम्पूर्ण तयारी भइरहेको जानकारी दिए ।

सरकारको पहिलो प्राथमिकता कोरोना खोप उपलव्ध गराउने भएकाले त्यसका लागि लागिरहेको र बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट जोगाउन, उद्दार गर्नका लागि सम्पूर्ण प्रयास बाँकी नराखिने उनको भनाइ छ ।