यस्तो निर्णय गर्दै जसपाको बैठक सम्पन्न , के होला पार्टी एकता ?
काठमाडौं, ३ असार । आज जनता समाजवादी पार्टी (जसपा)को बहुमत पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक सकिएको छ । संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहको काठमाडाैंमा बसेको बैठकले विभिन्न ६ निर्णयहरु गरेको छ ।
पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाका अनुसार जेठ ८ गतेको कार्यसमितिको निर्णयअनुसार ओली सरकारमा जानेहरुलाई निष्कासन गर्ने गरी गरिएको पूर्णनिर्णयअनुसार सरकारमा सहभागी सबै मन्त्रीहरु पार्टीबाट स्वत निष्काशित भएका छन् ।
विहीबार बसेको बैठकले सोही निर्णयको कार्यान्वयन गर्दै सबै मन्त्रीहरुलाई पार्टीबाट निष्काशन गरेको खतिवडाले जानकारी दिए ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकता पुनः दाबी गर्ने निर्णय पनि बैठकले गरेको छ । अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष बैठकमा सहभागी भएको छैन । सो समूहले एकपक्षीयरुपमा १७ जना कार्यकारिणी समिति सदस्य मनोनित गर्दै निर्वाचन आयोगमा नामावली बुझाएको छ । यता अध्यक्ष यादव समूहको बैठकले निर्वाचन आयोगमा पुनः पार्टीको आधिकारिकता दावी गर्ने निर्णय गरेको नेता खतिवडाले जानकारी दिए ।
‘लुम्बिनी प्रदेशमा सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेका चारजना प्रदेशसभा सदस्यहरुलाई पुनश्चः कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ,’ उनले भने, ‘उनीहरुलाई पार्टी सदस्य र सांसद पद दुवै नरहनेगरी निष्काशनको कारबाहि गर्ने निर्णय गरिएको हो ।’
बैठकले मुलुक बाढी र पहिरोको चपेटामा फसिरहेको बेला प्रभावित नागरिकलाई उद्धार र राहतमा प्रभावकारी ढंगले काम गर्दै जनताको जीवनरक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।
त्यस्तै, बैठकले पार्टीले चुरे संरक्षण अभियान चलाउने निर्णय पनि गरेको छ । ‘बारा र पर्सा जिल्ला समितिको सिफारिस अनुसार गत स्थानीय चुनावमा पार्टीको चुनाव चिन्हबाट निर्वाचन जितेका तर अन्य पार्टीमा गएका स्थानीय प्रतिनिधिहरुको पदरिक्त गर्ने प्रक्रिया प्रारम्भ गर्ने निर्णय पनि गरिएको छ,’ प्रचार विभाग प्रमुख खतिवडाले भने ।