खनालको विज्ञप्तिले नेपाल पक्षमा तरंग


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार ४ २०७८
5.9K
SHARES

४ असार काठमाडौं। पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको नामबाट बुधबार सार्वजनिक वक्तव्यलाई लिएर एमालेको माधव नेपाल खेमामा तरंग पैदा भएको छ। उपचारका लागि नयाँ दिल्ली जानुअघि खनालले पार्टी एकताका पक्षमा उभिन आग्रह गर्दै बुधबार जारी गरेको वक्तव्यको आधिकारिकतालाई लिएर नेपाल समूहका केही नेताले आशंका गरेका छन्।

अघिल्लो दिनसम्म अध्यक्ष केपी ओलीसँग मिल्न नसकिने निष्कर्ष सुनाएका खनालले एकाएक पार्टी एकताका लागि आव्हान गरेपछि वक्तव्यको आधिकारिकतामाथि प्रश्न उठेको हो। वक्तव्य सार्वजनिक भएलगत्तै नेपाल समूहका नेता जगन्नाथ खतिवडाले खनालको हस्ताक्षर दुरुपयोग भएको हुनसक्ने टिप्पणी गर्नुभएको थियो।

वक्तव्यको आधिकारिकतामाथि आशंका गर्दै सोही समूहका अर्का नेता डा. विजय पौडेलले खनालको नामबाट अरु कसैले वक्तव्य जारी गरेको हुनसक्ने दाबी गरेका थिए। खनालले मंगलबार दिल्ली प्रस्थान गर्नुअघि जारी गरेको वक्तव्यमा जनताको चाहना र अपेक्षा विपरित गलत प्रवृत्तिका नेताहरुको इगो र बदलाको भावले पार्टीमा गम्भीर संकट उत्पन्न भएको भन्दै धैर्य र संयमका साथ पार्टी एकता जोगाउन पार्टी पंक्तिलाई आह्वान गरेका थिए।

विश्वनाथ प्याकुरेल,भोला पोख्रेल,प्रेमलकुमार खनालसहित झण्डै डेढ दुई सयका अगाडि अघिल्लो दिन बोलेको कुराको खण्डन हुनेगरी भोलिपल्टै वक्तव्य आएपछि शंका लाग्नु स्वभाविक हुने नेपाल पक्षका धेरै नेताको भनाइ छ। नेपाल समूहका नेताहरुले अघिल्लो दिनसम्म खनालले लिएको अडान र हिजोको वक्तव्यको भाषा हेर्दा आशंका पैदा गरेको बताएका छन्। खनाललाई बाध्य बनाएर वक्तव्यमा हस्ताक्षर गराइएको हुनसक्ने नेता खतिवडाको आशंका छ।

‘दुई दिनअघि पनि मेरो उहाँसँग कुराकानी भएको थियो। पार्टीलाई दक्षिणपन्थी धारबाट जोगाउन पर्छ,प्रतिगमनको मतियार बन्नुहुँदैन भन्ने उहाँको प्रष्ट अडान थियो। बुधबार एकाएक त्यस्तो वक्तव्य आएपछि अचम्म लागेको छ’,उनले भने।

वक्तव्यमा खनालकै हस्ताक्षर प्रयोग भएपनि त्यसको पृष्ठभूमिले षड्यन्त्र देखिएको उनको भनाइ छ। बिरामी परेर अस्पताल भर्ना भएको व्यक्तिलाई भावनात्मक कुरा गरेर जबर्जस्ति वक्तव्यवाजी गराइएको भन्दै उहाँले षड्यन्त्रको आशंका गर्नुभएको हो। ‘वक्तव्यको राजनीति गर्नै पर्दैन, एजेण्डाको सम्बोधन गरे सबै समस्या हल हुन्छ’,नेता खतिवडाले भने, ‘सर्वोच्चको आदेशको फैसलालाई सम्मान गरेर विषयवस्तुमा खुला सम्बाद गरे भैहाल्छ। यो वक्तव्यको राजनीति गरेर किन नाटक गरेको हो अचम्म लागेको छ।- जनआस्थाबाट