यी तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार ४ २०७८
7.5K
SHARES

४ असार काठमाडौं । नेकपा एमालेले कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको हो ।

प्रमुख सचेतक गुलावजंग शाहका अनुसार शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

यी ३ मन्त्रीसहित सांसद प्रकाश ज्वालाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गत वैशाख ३ गते विश्वासको मत दिएका थिए । त्यसपछि शाहीले थापा, शाही र बुढालाई मन्त्री नियुक्त गरेका थिए ।

नेकपा एमालेले कारबाही गरेपछि पदमुक्त भएका उनीहरु सर्वोच्च अदालतको आदेशमा पुनर्वहाली भएका थिए । पुनर्बहाली भएपछि उनीहरुले फेरि एमाले संसदीय दलको निर्देशन मान्नुपर्ने शाहको भनाई छ ।

दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले मन्त्रीत्रय थापा, शाही र बुढालाई राजीनामा दिएर प्रतिपक्षी भूमिकामा बस्न निर्देशन दिएको हो । सरकारमा थापा भौतिक पूर्वाधार तथा शहरी विकास, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् ।

दलका नेता कँडेलले सर्वोच्च अदालतको आदेशमा संसदीय दलको सदस्यका रुपमा पुनस्र्थापित गरी वैशाख १ गते र आजको बैठकमा पटक–पटक बोलाउँदा पनि अनुपस्थित भई दलीय व्याख्याको आचरणविरुद्ध माओवादी नेतृत्वको सरकारमा सहभागी रहेकाले तत्काल राजीनामा दिई संसदीय दलको सदस्यका रुपमा भूमिका निर्वाह गर्न निर्देशन दिने निर्णय भएको बताएका छन ।

त्यस्तै बैठकले संसदीय दलका नेता कँडेललाई प्रदेशसभा सदस्यलाई गरिएको कारबाहीका सम्बन्धमा सर्वोच्च अदालतले गत जेठ ३१ गते पठाएको पत्रअनुसार लिखित जवाफ दिने निर्णय गरेको छ ।