यी दुई निर्णय गर्दै माओवादी केन्द्रको आकस्मिक बैठक सम्पन्न
७ असार काठमाडौं। आज नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आकस्मिक बैठक बसेको छ। बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन्।
साथै उक्त बैठकले निर्वाचन आयोगसँग सम्बन्धित निर्णय पनि गरेको छ। भर्चुअल विधिमा भएको बैठकले माओवादी केन्द्रबाट निर्वाचन जितेका स्थानीय जनप्रतिनिधिका साथै केही केन्द्रीय नेताहरूले समेत पार्टी छाडेकाले उनीहरूलाई कारबाही गरेको छ।
स्थानीय तहका १८ सहित केन्द्रीय समितिका केही नेताहरूलाई माओवादी केन्द्रले पार्टी छोडेको भन्दै कारबाही गरेको हो। यसअघि सो पार्टीले पार्टी छोडेकाहरूलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाए पनि केन्द्रीय कमिटीबाटै अनुमोदन हुनुपर्ने प्रावधानका कारण आयोगले त्यसबारे निर्णय लिएको थिएन।
बैठकले स्थानीय तहका साथै पार्टी छोडेका केन्द्रीय तहका नेताहरूका बारेमा पनि कारबाहीको प्रस्तावलाई अनुमोदन गरेको छ।
यसअघि शुक्रवार नेताहरू लीलामणि पोखरेल, देव गुरुङ लगायतका नेताहरू निर्वाचन आयोग पुगेर पार्टी छोडेर अन्यत्र गएकाहरूलाई पार्टीले कारबाही गरे पनि आयोगले दल त्याग गरेको सूचना प्रकाशित नगरेको भन्दै आयोगका पदाधिकारीको ध्यानाकर्षण गराएका थिए।