यो निर्णय नमाने पार्टी एकता हुदैन – नेता बाँस्कोटा


Capital Headline
प्रकाशित मिति : सोमबार, असार ७ २०७८
6.5K
SHARES

७ असार काठमाडौ । आज नेकपा एमालेका स्थायी समिति सदस्य गोकुल बाँस्कोटाले एमालेबाट निष्काशित वरिष्ठ नेता माधव नेपाल पक्षलाई जेठ ३ कै बिन्दुबाट एमाले एकता गर्न दबाव दिएका छन् ।

एमालेको एकता चाहे पनि ३ जेठमा फर्कन संस्थापनले राखेको शर्त नमानेर नेपाल पक्ष यतिबेला निष्क्रिय भएको आरोप बाँस्कोटाले लगाएका छन् ।

‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो ? खिचडी पाक्ने त हो-होइन चुल्हो धुवाँएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन,’ पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका उनले ट्वीटरमा लेखेका छन्, ‘अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ ३ अघिको बैठक बस्ने ।’

जेठ ३ मा फर्कने शर्त नमाने एमाले एकताको प्रयास नगर्न उनले नेपाल पक्षलाई सुझावसमेत दिएका छन् । ‘त्यो नमान्ने भए भो छोडदिम, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम,’ बाँस्कोटाले लेखेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा एकतापछिकै अवस्थामा एमालेलाई अघि बढाउने बताउँदै आएका छन् भने नेपाल पक्ष नेकपा एकताअघि २ जेठ ०७५ को अवस्थाबाट एमालेका नेताहरुले पार्टीमा ठाउँ पाउनुपर्ने अडानमा छ ।

ओलीले विस्तार गरेको स्थायी समितिमा सदस्य बनेका बाँस्कोटाले पनि ओलीले नै भन्दै आएको बिन्दुबाट मात्रै एमाले एकता गर्न सकिने जिकिर गरेका हुन् ।