पार्टी एकता बारे नेता रिजालले राखे यस्तो धारणा
८ असार काठमाडौ । अहिले नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले एमालेको एकता जतिसक्दा चाँडो गर्नुपर्ने सुझाव दिएका छन् ।
एमालेको विदेश विभाग उपप्रमुखसमेत रहेका रिजाललले सन् १९७० को दशकमा सिक्किम भारतमा विलय गराउन भारतीय शासकले सिक्किमका राजा र काजीका कार्यकर्तालाई आपसमा भिडाउने र आफूहरू भने साँझ एउटै टेबलमा बसेर योजना बनाउने गरेको तथ्य पनि सम्झाएका छन् ।
५ पुस ०७७ मा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि वरिष्ठ नेता माधव नेपाल पक्षमा रहेका रिजाल प्रधानमन्त्री ओलीले ७ जेठ ०७८ मा दोस्र पटक प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रक्रियामा सामेल भएका थिएनन् ।
रिजाल अहिले ओलीप क्षमा खुलेका छन् । ‘पार्टीका सबै संरचनाहरूलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन नेताहरू सहमत भइसकेपछि नेकपा एमालेको एकतामा विलम्ब हुनुपर्ने वैध कारण छैन,’ रिजालले फेसबुकमा लेखेका छन् । उनले एमाले एकता हुन नदिन बाह्य शक्तिले चलखेल गरेको हुन सक्ने संकेत गर्दै पार्टीको आन्तरिक विवादलाई चाँडै मिलाउन एमाले नेतृत्वसमक्ष आग्रह गरेका छन् ।
‘कतिपय कुरा पर्दा खुलेपछि मात्रै देखिन्छन् । ७० को दशकमा सिक्किमका सडकमा राजा नाम्ग्याल र काजी लेन्डुपका मानिसहरूलाई भिडाउनेहरू सँझ एउटै टेबुलमा बसेर योजना बनाउँथे भन्ने थाहा पाउँदा निकै ढिलो भइसकेको थियो,’ रिजालले भनेका छन्, ‘बी एस दासको ‘The Sikkim Saga’ र जी बी एस सिधुको ‘Sikkim: Dawan of Democracy’ पुस्तक अहिले पनि बजारमा उपलब्ध छन् ।’ 