संसद पुनर्स्थापना हुन्छ, प्रधानमन्त्री देउवा बन्नुहुन्छ – अध्यक्ष यादव
१२ असार सप्तरी। आज जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनस्र्थापना हुने बताएका छन्। शनिबार सप्तरीमा पत्रकारसँग कुरा गर्दै यादवले यस्तो बताएका हुन्।
उनले भने, ‘संसदको पनि पुर्नस्थापना हुन्छ। लोकतन्त्रको पनि रक्षा हुन्छ। हामी यसमा ढुक्क छौं।’ उनले सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन परमादेश जारी गर्ने विश्वास व्यक्त गरे।
अध्यक्ष यादवले सरकारले कुनै माग पूरा नगर्दा पनि जसपाका कतिपय नेताहरु सरकारमा गएको टिप्पणी गरे। मधेशको माग जनसंख्याको आधारमा समावेशी समानुपातिक प्रतिनिधित्व, भाषाको अधिकार, ७ प्रदेशको सट्टा गरी १० जोड १ प्रदेशको अवधारणा ल्याउने भएपनि कुनै माग पूरा नभएको बताए।
नागरिकताको विषयमा प्रधानमन्त्री ओलीले ठूलो खेल खलेको यादवले आरोप लगाए। एकैजना प्रधानमन्त्रीले एउटै संसद्लाई दुईपटक भंग गरेको उदाहरण संसारमै नरहेको बताउँदै यादवले सार्वभौम संसद्लाई समाप्त गरी ओली निरकुंश बन्न खोजेको आरोप लगाए। संसद् भंग गरी प्रदेशसमेत भंग गर्दै अध्यादेशमार्फत निरकुंश शैलीमा देश चलाउने ओलीको मनसाय रहेको यादवको आरोप छ ।
उनले लामो संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पारी ओलीले ०४७ साल ल्याउन खोजिएको पनि आरोप लगाए ।