बरन्डामा ऊफ्रिने र बाँदर जुलुस गर्ने कम्युनिस्ट चरित्र होइन – नेता नेपाल
७ साउन काठमाडौ । आज नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रका घाउ खटिराले दु:ख दिइरहेको बताएका छन्।
आफूलाई जनै खटिराले दु:ख दिएजस्तै पाटीभित्र विभिन्न घाउखटिरा आएको बताएका हुन्। पार्टीमा यस्ता फोहोर हुन नहिने उनको भनाइ छ।
पुष्पलालको ४३औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै एमाले नेता नेपालले अब अपमान सहेर नबस्ने बताए।
तर, के हुन्छ भनेर हेरिरहेको उनको भनाइ छ। ‘आफूले बनाएको घर त्यसै छाडेर जाने चाहना कसैको हुन्न,’ नेपालले भने, ‘तर, अपमान सहेर, गलत कुरा सहेर बस्न सकिँदैन।
कहिले स्याल हुइयाँ, कहिले बरन्डामा ऊफ्रिने र कहिले बाँदर जुलुसको नाटक भइरहेको छ,’ उनले भने, ‘यस्तो प्रवृत्ति कम्युनिस्ट चरित्र होइन, लोकतान्त्रिक चरित्र पनि होइन। अब लोकतान्त्रिक चरित्रको विकास गर्नुपर्छ।’ मन्तव्यको क्रममा नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीकाे नाम भने लिएनन्।
कार्यक्रममा नेता नेपालले पुष्पलाल श्रेष्ठको जीवनी ‘नेपाल रत्न पुष्पलाल’ पनि विमोचन गरे। उनी प्रतिष्ठानका अध्यक्ष पनि हुन्। त्यसअघि उनले पुस्पलालको प्रतिमामा माल्यार्पण गरेका थिए।