बाहुबली समूह तत्काल खारेज गर्नुपर्छ – नेता भट्टराई
साउन ९, काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसमक्ष युथ फोर्स र अखिल फोर्स तत्काल खारेज गर्न माग गरेका छन् ।
सामाजिक सन्जाल फेसबुकमार्फत भट्टराईले अनेरास्ववियू र युवा संघजस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका अखिल र युथ फोर्सको कुनै औचित्य नभएको उल्लेख गर्दै तत्काल खारेजीको माग गरेका हुन् ।
समाजमा आतंकको आभास दिने र युवाहरूलाई कानुन हातमा लिएर राजनीतिलाई आपराधीकरण गर्न उद्दत समूहहरू खारेज हुनुपर्ने उनको भनाई छ । भट्टराईले लेखेका छन्, ‘समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्दत यस्ता बाहुबली समूहहरु तत्काल खारेज गर्नु पर्दछ ।
अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ । के काम हुन्छन जो युवासंघ र अनेरास्ववियूले गर्न नसक्ने तर युथफोर्स र अखिल फोर्सले मात्र गर्नसक्ने ?’
सर्वोच्च अदालतले असार २८ गते कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको भोलिपल्ट असार २९ गते एमाले नेता महेश बस्नेत समूहले युथ फोर्स गठन गरेको थियो । क्षितिज थेवेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरिएको छ ।
त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि असार ३१ गते वरिष्ठ नेता माधव नेपाल समूहले अखिल फोर्स गठन गरेको हो । तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको छ ।
भट्टराईको भनाइ यस्तो छ
ऐतिहासिक र गौरवशाली इतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन/ क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौ युवाहरुलाई राजनीतिक/ वैचारिक शिक्षा मार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ? समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्दत यस्ता बाहुबली समुहहरु तत्काल खारेज गर्नु पर्दछ । अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ । के काम हुन्छन जो युवासंघ र अनेरास्ववियूले गर्न नसक्ने तर युथफोर्स र अखिलफोर्सले मात्र गर्नसक्ने ?
पञ्चायत अखिलले नै फाल्यो । २०४८ पछिको कांग्रेसको राज्य आतंकसँग अखिल नै लड्यो । माओवादीको १० वर्षे हिंसाको प्रतिवाद यिनै अखिल र युवासंघले गरे । पार्टीभित्रका गुटहरुमा वैचारिक चरित्र सकिंदै जाँदा एक आर्काका विरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो ? यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आफैले खनिरहेको स्वीकार गर्नु पर्दछ । शान्तिपूर्ण र वैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरकमतलाई फक्रनदिने जस्ता विशेषतासहितको बहुदलीय जनबादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होईन । तसर्थ: यस्ता गतिबिधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समक्ष हार्दिक अनुरोध गर्दछु ।