एमाले स्थायी कमिटी बैठक बस्दै : वारपारको तयारी , यी हुन एजेण्डा
१६ साउन काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक आज दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमा बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
कार्यालय सचिव तामाङले जनाए अनुसार बैठकमा विधान अधिवेशनको तयारीका लागि समितिहरु गठन गर्ने बारे छलफल हुनेछ । यसै महिनाको अन्तिममा विधान अधिवेशन गर्ने तयारी रहेको भए पनि केही दिन पछाडि सर्ने सम्भावना रहेको तामाङले बताए। बैठकमा केही विभागहरु गठन गर्ने विषयमा पनि छलफल हुनेछ ।
कार्यालय सचिव तामाङका अनुसार बैठकमा माधव नेपाल समूहलाई पनि खबर गरिएको छ। तर‚ नेपाल समूह भने आज पनि बैठकमा नजाने भएको छ। नेपाल पक्षीय नेता डा। बेदुराम भुषालले कुरा नमिली बैठकमा नजाने बताए। ‘हामीलाई बैठकमा बोलाउनु नबोलाउनुको कुनै अर्थ छैन,’ भुषालले भने, ‘विवाद समाधान नभइ हामी जाँदैनौं।’
ओली पक्षीय स्थायी कमिटी सदस्य सुवास नेम्वाङले आफूहरु अहिले पनि दुई शीर्ष नेताबीच भेट गराएर विवाद समाधानको प्रयासमा रहेको बताए।
नेम्वाङले दुई दिनअघि नेता नेपालसँग भेट गरी अध्यक्ष ओलीसँग बसेर छलफल गर्न आग्रह गरेका थिए। अझै पनि पार्टीलाई एकतावद्ध बनाएर लैजाने प्रयास जारी रहेको नेता नेम्बाङले बताए ।