एकता भाँड्ने अभिव्यक्ति कसैले नदिनू – नेपाल पक्ष
१८ साउन काठमाडौं। आज एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको स्थायी समिति सदस्यहरूको बैठकले एकता भाँड्ने अभिव्यक्ति नदिन नेताहरूको ध्यानाकर्षण गराएको छ। सोमबार काठमाडौंमा बसेको नेपाल पक्षको बैठकले एकताका लागि प्रयास जारी रहेका बेला एकता भाँड्ने अभिव्यक्ति नदिन नेताहरूको ध्यानाकर्षण गराएको हो।
बैठकपछि एमाले नेता रघुजी पन्तले सार्वजनिक अभिव्यक्ति दिँदा शब्द चयनमा ध्यान दिन ध्यानाकर्षण गराएको बताए। बैठकमा एकताका लागि छलफलमा जुटेका नेताहरूले अहिलेसम्मको छलफलको अवस्थाका बारेमा जानकारी गराएको उनले बताए।
नेता पन्तले अब छिटै एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता हुने जानकारी दिए। उनले एमालेलाई एकताबद्ध गर्न अधिकतम प्रयास भइरहेको बताए। गएको जेठ २७ गते दोस्रो तहका दश नेताले दश बुँदे सहमति गरे पनि एमालेको एकता कायम हुन सकेको छैन। यसबीचमा दुवै पक्षका नेताहरूले आन्तरिक छलफललाई भने निरन्तरता दिएका छन्।