यस्तो निष्कर्ष निकाल्दै प्रचण्ड र नेपाबीच भेटवार्ता सम्पन्न , के होला ओलीसॅंगको भेटघाट ?
१९ साउन काठमाडौं । आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेका छन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेपालसँग भेटवार्ता गर्ने तयारी भैरहेको बेला प्रचण्डले भेटेका हुन् । प्रचण्ड र नेपाल दुवैको सचिवालयले आज बिहान भेटवार्ता भएको पुष्टि गरेका छन ।
प्रचण्ड र नेपाल दुवैको सचिवालयले भेट भएको स्थानबारे केही खुलाउन नचाहे पनि कोटेश्वरस्थित माधव नेपालको निवास नजिककै एक घरमा उनीहरुबीच भेटवार्ता भएको स्रोतले जनाएको छ ।
सत्ता साझेदार दलहरुले एमालेको नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेको बेला प्रचण्डले नेता नेपाललाई भेटेका हुन् । सकेसम्म नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ ।
सुरुका छलफलहरुमा नेपालले सरकारमा सहभागी हुने बचन दिए पनि पछिल्ला दिनहरुमा आन्तरिक एकताको प्रयास भइरहेकाले सरकारमा नजाने बताउँदै आएका छन् ।