नेता नेपालले आफूनिकट नेताहरुलाई यस्तो प्रस्ताव राखे
२० साउन काठमाडौं। आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक भेटवार्ता हुने भएको छ। उक्त भेटवार्ताले एमाले विवाद वार कि पारमा पुर्याउने विश्वास गरिएको छ।
नेता नेपाल ओलीसँग भेट्न इच्छुक नदेखिए पनि दोस्रो तहका नेताहरूको दबाबपछि तयार भएका हुन्। विश्वस्त स्रोतका अनुसार सोमबार आफू पक्षीय स्थायी कमिटी सदस्यसँगको छलफलपछि नेपाल भेटका लागि तयार भएका हुन्।
हिजोको बैठकमा नेता नेपालले आफू भेटका लागि तयार भएको तर ओली सहमतिका लागि तयार नभए के गर्ने भनी प्रश्न गरेका थिए। उनले स्थायी कमिटीका आफू पक्षीय नेताहरूलाई हदैसम्म लचिलो भई सहमतिका लागि कुरा गर्दा पनि ओली सहमत नभएको अवस्थामा विकल्पबारे समेत कुरा गरेका थिए।
‘त्यति बेला तपाईंहरू मेरो कदमका पक्षमा आउने कि नआउने ?’ नेपालको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने। नेपाल निकट नेताहरूले ओली एकताका लागि प्रस्ताव मान्न तयार नभए नेपाललाई साथ दिन तयार भएको जवाफ दिएका थिए। त्यसपछि सहमतिका लागि बटम लाइन तयार गरी भेटका लागि सहमत भएका हुन्।
एमालेका दोस्रो तहका नेताहरूले पार्टी एकताका लागि ओली र नेपाल दुवैलाई दबाब दिँदै आएका छन्। उनीहरूको दबाबले ओली र नेपालको भेटवार्ता निश्चित भएको हो। अब यो भेटवार्ताले एमालेको वार कि पार टुंगो लाग्ने सम्भावना बलियो छ।