भोलि केन्द्रीय कमिटीको कुनै पनि बैठक छैन – एमाले
२० साउन काठमाडौं । अहिले नेपाल कम्यनिस्ट पार्टी (एमाले) ले पार्टी वरिष्ठ नेता माधव नेपाल पक्षले बिहीबार केन्द्रीय कमिटी बैठक बोलाएकोप्रति आपत्ति जनाएको छ । बुधबार साँझ एक प्रेस वक्तव्यमार्फत् एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार पार्टीको केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको समेत जनाएका हुन् ।
“केन्द्रीय कमिटीको नामबाट साउन २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकाले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । साउन २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछ । पटकपटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीत हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरूमा अपिल गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।
नेता नेपाल पक्षले बिहीबार ११ बजेका लागि केन्द्रीय कमिटी बैठक डाकेको छ । लामो समयदेखि नेपाल पक्षले समानन्तर गतिविधि गर्दै आएको छ ।
