नेपाल पक्ष दुई समुहमा विभाजन, यी ५ नेता ओलीसॅंग नजिकिदै
२३ साउन काठमाडौँ । अहिले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको समूहभित्र जसरी पनि पार्टी एकता गर्नुपर्ने र अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यको सम्भावना सकिएकाले विद्रोह गरेर अगाडि जानुपर्ने प्रस्ट दुई थरी मत देखिएको छ । नेपाल समूहका केन्द्रीय सदस्यहरूको शुक्रबार सकिएको बैठकमा दोस्रो तहका नेताहरूले पार्टी एकता निर्विकल्प रहेको बताएका छन् भने केही सांसदसहित अधिकांशले विकल्पमा जानुपर्ने धारणा राखेका छन् ।
एकताबारे निर्णय गर्ने जिम्मा भने स्थायी कमिटी सदस्यलाई दिइएको छ । नेता नेपालले एकता कि विद्रोह भन्नेमा निर्णायक कदम चाल्न परामर्शका लागि आफ्नो समूहका केन्द्रीय सदस्यहरूको बैठक बोलाएका थिए । बैठकको सुरुमा नेता नेपालले एकताका लागि विश्वासको संकट रहेको बताएका थिए । बैठकमा ५५ सदस्यले धारणा राखेका थिए । धेरैजसो केन्द्रीय सदस्यहरूले सम्मानजनक
एकता र नेतृत्वबीचको शक्ति बाँडफाँटबाहेक ओलीको उधारो आश्वासनमा एकता नगर्न सुझाएको स्थायी कमिटी सदस्य वेदुराम भुसालले बताए । ‘एकताका नाममा लामो समय अनिर्णयको बन्दी बन्न नहुने मत धेरैबाट आएको थियो,’ उनले भने ।
बैठकमा विवाद समाधानका लागि गठित कार्यदलका सदस्यको भूमिकामाथि पनि प्रश्न उठेको थियो । कार्यदलका सदस्यहरूले दसबुँदे सहमतिको प्रस्ताव उपलब्धिमूलक रहेको तर्क गरेका थिए ।
भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम आचार्यलगायत नेताले दसबुँदे सहमति कार्यान्वयन गरेर एकतामा जानुपर्ने मत राखेका थिए । बिहीबारको बैठकमा रावलले दसबुँदे सहमति र पछिल्ला दिनमा एकताका लागि भएका प्रयासबारे ब्रिफिङ गरेका थिए । ‘दसबुँदे उपलब्धि हो । यसलाई कार्यान्वयन गरेर जानुपर्छ ।
एकतामा जोड दिनुपर्छ,’ नेता पाण्डेले बैठकमा भनेका थिए । नेता भुसालले दसबुँदे सहमति कार्यान्वयनमा समस्या आएको बताए । ‘हामीले दसबुँदेलाई उपलब्धि मान्यौं तर दसबुँदेकै सन्दर्भमा जे हुन्छ भनेर सहमत भएका थियौं ।
सहमति भइसकेको कुराबाट पछाडि हट्ने काम भएको छ । त्यसलाई राम्रो मान्न सकिँदैन । यो कार्यान्वयन नभई अगाडि बढ्न सक्दैनौं,’ उनले भनेका थिए । दसबुँदे सहमति उपलब्धि भए पनि पर्याप्त नरहेको मत राख्ने केन्द्रीय सदस्यहरूको संख्या ठूलो छ । ‘दसबुँदेमा कमी छ, यसलाई जस्ताको तस्तै स्वीकार गरेर जान सकिँदैन भन्ने मत बलियो देखियो,’ एक केन्द्रीय सदस्यले भने ।
यस्तो मत राख्ने नेताहरूले ओली पक्षले अघि बढाएका सदस्यता नवीकरण, विधान महाधिवेशनलगायत गतिविधि नरोकिए विकल्प सोच्नुपर्ने बताएका थिए । उनीहरूले धेरै समय नअल्झिन पनि नेतृत्वलाई आग्रह गरेका छन् । ओलीले आफ्ना गतिविधि रोकेनन् भने हामीले पनि समानान्तर गतिविधि रोक्नु हुन्न । त्यसका लागि २४ गतेसम्म पर्खिनुपर्छ । २४ गतेको बैठक ओली पक्षले रोक्छन् कि रोक्दैनन् हेर्नुपर्छ ।
गतिविधि नरोकिए आफ्नो ढंगले अगाडि बढ्ने विकल्प हुनुपर्छ,’ एक केन्द्रीय सदस्यले भनेका थिए । बिहीबारको बैठकमा नेता नेपालले पनि साउन २४ भित्र हेरेर निर्णय लिने बताएका थिए ।