यी नेताहरू माओवादी केन्द्रमै फर्किन लबिङ गर्दै
२४ साउन काठमाडौं।अहिले नेकपा एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरु पुरानै पार्टीमा फर्किने मनस्थितिमा पुगेका छन्। माओवादी केन्द्रमा फर्किने अहिले लबिङ भइरहेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लामो लबिङपछि केही नेताहरूलाई फर्काउने तयारी गरिएको बताइएको छ।
एमालेमा देखिएको विवाद र अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अवस्थाका कारण माओवादीमा फर्किन चाहेका केही नेताहरूलाई ल्याउने तयारी गरिएको बताइएको छ। सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, गौरीशंकर चौधरी, दाबा लामा लगायतका २३ जना पूर्वमाओवादी नेताहरुले एमालेमा रहने निर्णय लिएका थिए।
नेकपा एमाले आफ्नै विवादमा फसेपछि यता न उता बनेका केही नेताहरू माओवादी केन्द्रमा फर्कने इच्छा व्यक्त गरेका छन्।
माओवादीमा फर्किन चाहे पनि अध्यक्ष प्रचण्डले चासो नदिएका कारण उनीहरू लामो समयदेखि रोकिएको चर्चा चलिरहेको थियो। पछिल्लो समय उनीहरूलाई फर्काउने विषयमा प्रचण्डसमेत सकारात्मक देखिएको बताइएको छ।
एमालेमै रहेर नयाँ वैचारिक समूह निर्माण गर्ने र नेकपा ब्युँताउने कसरत गरे पनि एमाले आफ्नै समस्याबाट बाहिर आउन नसक्ने देखेपछि नेताहरू माओवादी फर्किने मनसायमा पुगेका थिए। नेकपा माओवादी पार्टी नै खारेज गर्नुपर्ने माग राखेर निर्वाचन आयोग धाएका र सर्वोच्च अदालतमा माओवादीकै सांसद बनाइदिन गुहार मागेका केही उग्र नेता बाहेकका नेताहरू माओवादीमा फर्काउन प्रचण्ड सकारात्मक बनेपछि उनीहरूलाई कसरी फर्काउने भन्ने तयारी भएको माओवादी स्रोतले बताएको छ।
खास गरी पूर्वमाओवादी र प्रचण्डप्रति नरम रहेका नेताहरू लेखेराज भट्ट र रामबहादुर थापालाई माओवादीमा फर्काउन पहल थालिएको बताइएको छ। बादल र भट्टले अध्यक्ष प्रचण्डसँग एक तहको संवाद गरिसकेको बताइएको छ। टोपबहादुर रायमाझी र प्रभु शाहलाई भने ल्याउन प्रचण्डले मानेका छैनन्।
उनीहरू फर्किन चाहेको सूचना प्रचण्डकहाँ पठाए पनि प्रचण्डले पार्टी नै सिध्याउन हिंडेकाहरू फर्किन नपर्ने जवाफ फर्काएका थिए। उनीहरूले प्रचण्डसँग भेट्न खोजेको भए पनि प्रचण्डले समय दिएका छैनन्। टोपबहादुर र प्रभुलाई माओवादीमा ढोका बन्द भइसकेको प्रचण्डले बताएका थिए। बादल र भट्ट फर्किए मणि, गौरीशंकर र दाबा पनि फर्किने बताइएको छ।
उनीहरूको पछिल्लो गतिविधि माओवादी केन्द्रको विरुद्धमै केन्द्रित रहेको छ। टोपबहादुर माओवादी र प्रचण्ड सकाउने अभियानमै हिंडेको र शाहले माओवादी मुक्त देश बनाउनुपर्ने अभिव्यक्ति दिएकाले प्रचण्डले भेट्दै नभेट्ने अड्डी कसैका छन्।