अफगानिस्तान युद्ध : फेरि अर्को एक प्रान्तीय राजधानी तालिवानी कब्जामा
२६ साउन एजेन्सी । अफगानिस्तानमा युद्धरत विद्रोही समूह तालिवानले त्यहाँको एक अर्काे प्रान्तीय राजधानीलाई आफ्नो कब्जामा लिएको छ ।
तालिवानी लडाकुहरुले जौज्जान प्रान्तको राजधानी शेबर्गनलाई नियन्त्रणमा लिए लगत्तै उत्तरी अफगानिस्तानको सार–ए–पुल प्रान्तको राजधानीमा पनि सोमबार आफ्नो कब्जा जमाएको हो ।
जसअनुसार तालिवानले एकै दिन तीन वटा प्रान्तका राजधानीलाई आफ्नो कब्जामा लिन सफल भएको छ । पछिल्लो तीन दिनमा तालिवानले पाँच प्रान्तका राजधानी आफ्नो नियन्त्रणमा लिन सफल भएको छ ।
सार–ए–पुल प्रान्तका परिषद प्रमुख मोहम्मद नूर रहमानीले भने, ‘अफगानी सुरक्षा बलकोे एक साताभरको प्रतिरोधका बावजुद तालिवानले अन्ततः प्रान्तीय राजधानीमा आफ्नो कब्जा जमाउन सफल भएको छ ।’
योसंगै सार–ए–पुल प्रान्तका थुप्रै स्थानहरु तालिवानी आक्रमणका कारण ध्वस्त भएको रहमानीले बताए । उनका अनुसार अहिले त्यस क्षेत्रमा सरकारी सुरक्षा बलको उपस्थिति छैन भने सरकार समर्थित स्थानीय मिलिशियाहरुले पनि कुनै युद्ध बिना तालिवानी लडाकुहरु समक्ष आत्मसमर्पण गरेका छन ।
अफगानिस्तानमा कुल ३४ प्रान्तीय राजधानीहरु छन । अमेरिका नेतृत्वको नेटो सेना फिर्ता भएलगत्तै अफगानिस्तानमा तालिवानको बर्चस्व बढ्न थालेको एनपिआर न्युजले जनाएको छ ।