स्टोर गर्नुभन्दा महाअभियान चलाएर खोप दिनु पर्छ


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २७ २०७८
5.7K
SHARES

२७ साउन काठमाडौं । निषेधाज्ञा खुकुलो भएपछि नेपालमा कोरोना संक्रमण दर बढिरहँदा तेस्रो लहरको जोखिम बढ्ने कुराले आम मानिसमा त्रास पैदा भएको छ ।

कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै जानु र कोरोना संक्रमितको मृत्यू हुने दर पनि नघट्नुले कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने संकेत रहेको भन्दै सरकारले नागरिकलाई सचेत गराउँदै आएको छ ।

यद्यपि, टेकु अस्पतालका सरुवा तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने अहिले नै तेस्रो लहर आउँछ भनेर हतार गर्न नहुने बताएका छन ।

संक्रमण दर केही बढ्ने वित्तिकै तेस्रो लहर आयो भनेर गलत प्रचार गर्न नहुने उनले बताए । नेपालमा अहिले नै तेस्रो लहर नआउने उनको दावी छ ।

दोस्रो लहर निम्त्याउनमा भूमिका खेलेको डेल्टा भेरिएन्ट नै अहिलेसम्म कायम रहेकाले तेस्रो लहरको जोखिम अहिले नै नरहेको उनको ठहर छ ।

बीचमा अन्य कुनै भेरियन्ट अफ कन्सर्न नेपाल प्रवेश नगरे तत्काल तेस्रो लहर ननिम्तने उनले बताए । तर जोखिम भने नटरेको उनले बताएका छन ।

अहिलेको अवस्थामा सरकारले कोरोनाविरुद्धको भ्याक्सिनलाई स्टोर गरेर राख्नुभन्दा खोपलाई महाअभियानको रुपमा सञ्चालन गर्नुपर्नेमा उनको जोड छ ।

भ्याक्सिनहरुले कुनै पनि लहरलाई रोक्न नसके पनि मृत्यु संख्यालाई भने रोक्न सक्ने भएकाले जति सक्दो चाँडो भ्याक्सिनको उपलब्धतालाई नागरिकको पहुँचमा पुर्याउनु आवश्यक रहेको उनको दावी छ ।

जनस्वास्थविद् डा. शरद वन्तले पनि अहिले नै कोरोनाको तेस्रो लहर नेपालमा देखिने सम्भावना कम रहेको बताएका छन ।

सरकारले नागरिकलाई तेस्रो लहर आउन सक्ने भन्दै त्रास सिर्जन गर्न नहुने उनको तर्क छ ।

सरकारले आधार प्रस्तुत नै नगरी तेस्रो लहर आउन सक्छ भन्नु गलत रहेको उनको भनाइ छ ।

तर तेस्रो लहर आउन सक्दैन भन्नुको अर्थ जोखिम नै हटेको भन्ने बुझ्न नहुने उनको दावी छ ।

अहिले कोरोनाको दोस्रो लहर नै नसकिएकाले यसको संक्रमणको चेनलाई ब्रेक गर्नतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

तर तेस्रो लहर कतिबेला र कस्तो प्रकृतिको आउँछ भन्ने कुरा हाम्रो व्यवहारमा निर्भर रहने उनको दावी छ ।

स्वास्थ्यविद् डा प्रभात अधिकारीले पनि अहिले तत्काल कोरोनाको तेस्रो लहर नेपालमा नआउने बताएका छन ।

संक्रमण दर बढेको भए पनि तेस्रो लहर भने तत्काल नआउने उनको दावी छ ।

अहिले दोस्रो लहर कायम नै रहेकाले दोस्रो लहरकै रुपमा केही संक्रमण दर बढ्न सक्ने र मृत्यु संख्या पनि केही बढ्न सक्ने उनको तर्क छ ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहोनीले भने संसदको शिक्षा तथा स्वास्थ्य समितिमा असोजको १५ देखि कात्तिकभित्रमा नेपालमा तेस्रो लहर आउन सक्ने प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गत ५ महिनाको कोरोना संक्रमणको अवस्था हेरेर उक्त प्रतिवेदन तयार पारेको उनको तर्क छ, जसमा एक व्यक्तिले कति जनालाई संक्रमण गर्न सक्छ ?, मान्छेहरुको गति कस्तो छ ?, मास्कको उपयोग कस्तो छ ? भन्ने जस्ता विषयहरुलाई आधार बनाएर उक्त प्रतिवेदन तयार पारेको उनको भनाइ छ ।