अब माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावना छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन ३० २०७८
12.4K
SHARES

३० साउन काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टी फेरि प्रमुख पार्टी बन्न सक्ने बताएका छन्।

शनिबार काठमाडौंमा शुरु भएको केन्द्रीय कमिटीको बैठकमा समसामयिक परिस्थितिबारे रिपोर्टिङ गर्ने क्रममा प्रचण्डले आगामी निर्वाचनसम्म आउँदा माओवादी केन्द्र देशको प्रमुख पार्टी बन्न सक्ने सम्भावना रहेको बताएका हुन्।

पछिल्ला राजनीतिक घटनाक्रममा माओवादीले राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको हुनाले चुनावमा प्रमुख शक्ति बन्ने राजनीतिक आधार तयार भएको प्रचण्डको भनाई छ । तर, यसका लागि अब यो राजनीतिक पहललाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न बाँकी रहेको प्रचण्डले बताए।

बैठकलाई सम्वोधन गर्दै प्रचण्डले भने, ‘हाम्रो अस्तव्यस्त भएको संगठन नै हो। माओवादी नेतृत्वले राजनीतिक पहल आफ्नो हातमा लिएको छ, अब यसलाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न जरुरी छ । माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दाहरु उल्टिने र देश नै दुर्घटनामा पर्न सक्छ। त्यसैले परिवर्तनको रक्षा गर्ने, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने पहल माओवादी लिनुपर्छ।’

बलियो भएका छौं भनेर ढुक्क भएर नबस्न प्रचण्डले आफ्ना नेता कार्यकर्ताहरूलाई आग्रह गरेका थिए। उनले बैठकमा भने,‘बलियो छ भनेर ढुक्क हुने स्थिति छैन। परिवर्तन उल्ट्याउन खोज्ने तत्वहरुले गठबन्धन तोड्ने र पुरानै सरकार ल्याउन खोजेका छन्। हाम्रो काँधमा अहिले पनि जिम्मेवारी छ। प्रतिगमनलाई परास्त गर्ने र प्रतिगमनलाई रोक्ने भूमिकालाई अलिकति पनि घट्न दिनुहुँदैन।’

केन्द्रीय कमिटीको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले नेकपाको तीन वर्षे कार्यकालको पनि समीक्षा गरे । नेकपाका दुई अध्यक्षमध्ये केपी ओलीले प्रतिक्रियावादी धारको नेतृत्व गरेको र आफूले क्रान्तिकारी धारको नेतृत्व गर्दै ओलीविरुद्ध वैचारिक संघर्ष गरेको बताएका थिए।