एमालेले बनायो गण्डकीमा छाया सरकार, को-को छन मन्त्री ?


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन ३० २०७८
10.8K
SHARES

३० साउन काठमाडौं। साढे तीन वर्ष गण्डकी प्रदेश सरकारको नेतृत्व गरेको नेकपा एमालेले गण्डकी प्रदेशमा छाया सरकार बनाएको छ। नयाँ सरकार गठन भएपछि पछिल्लो समय ११ वटा मन्त्रालय बनाएकाले एमाले संसदीय बोर्डको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको गण्डकी प्रदेशका एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले बताए।

उनले प्रदेशमा ११ मन्त्रालय भए पनि ९ समितिले ११ वटा मन्त्रालयमा हुने गतिविधिहरूलाई निगरानी गरी प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनका लागि संसदीय समूह बनाएको बनाएको जानकारी दिए।

सचेतक अधिकारीका अनुसार भौतिक पूर्वाधार, विकास तथा यातायात मन्त्रालयका गतिविधिको निगरानी गर्नका लागि पूर्व मन्त्री रामशरण बस्नेतलाई संयोजक बनाइएको छ। सदस्यमा रोशन गाहामगर र प्रभा कोइराला छन्। संयोजक बस्नेत यस अघि सोही मन्त्रालयमा मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए।

त्यसै गरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको निगरानीका लागि पूर्व मन्त्री विकास लम्साललाई संयोजक बनाइएको छ। सदस्यमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार रहेका छन्। संयोजक लम्साल यस अघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका थिए।

सामाजिक विकास मन्त्रालयको संयोजकमा नरदेवी पुन मगरलाई चयन गरिएको छ। सदस्यमा जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट रहेका छन्। संयोजक पुन यस अघि सामाजिक विकास मन्त्री समेत बनेकी थिइन्।

त्यसै गरी पछिल्लो सरकार गठन भएपछि बनेका नयाँ कानुन, सूचना सञ्चार, प्रदेश मामिला मन्त्रालयको संयोजक चन्द्र मोहन गौचन बनेका छन्। सदस्यमा पुष्पा केसी भण्डारी चयन भएकी छन्। त्यस्तै अर्थ मन्त्रालयको संयोजक इन्द्रलाल सापकोटा बनेका छन्। सदस्यमा कृष्ण बहादुर थापा रहेका छन्।

भूमि, व्यवस्था,कृषि मन्त्रालयको संयोजकमा मित्रकुमारी गुरुङ चयन भएका छन्। सदस्यमा मनबहादुर गुरुङ र महेन्द्र थकाली चयन भएका छन्। ऊर्जा, खानेपानी मन्त्रालयको संयोजकमा मीनप्रसाद गुरुङ चयन भएका छन्। सदस्यमा धनञ्जय दवाडी चयन भएका हुन्। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् समूहको संयोजकमा मोहन प्रसाद रेग्मीले चयन भएका छन्।

सदस्यमा मायानाथ अधिकारी र मीना गुरुङ चयन भएका छन्। पछिल्लो मन्त्रालय फुटाएर बनाइएको स्वास्थ्य, जनसङ्ख्या, युवा तथा खेलकुद समूहको संयोजकत्वमा राजीव पहारी चयन भएका छन्। सदस्यमा जुनादेवी नेपाली र सावित्रा राना मगर चयन भएका छन्।