अब नेपालसँग कुनै पनि सम्झौता हुँदैन – प्रवक्ता ज्ञवाली
३१ साउन काठमाडौं। एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले अब अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग कुनै वार्ता तथा संवाद नगर्ने स्पष्ट पारेका छन्। एकताको लागि अध्यक्ष ओलीले लामो समयसम्म नेता नेपाललाई पर्खिएको भए पनि अब नेपालसँग भने एकताको लागि वार्ता नगर्ने पक्षमा अध्यक्ष पुगेको ज्ञवालीको भनाई छ।
एक टेलिभिजन अन्तर्वार्तामा उनले नेपालसँग वार्ता नगरे पनि नेपाल पक्षका प्रभावशाली नेताहरूसँग भने आफूहरूले वार्ता तथा छलफल गरिरहेको पनि सुनाए।
उनले नेता नेपाल एकताको लागि गम्भीर नभएको आफूहरूको निष्कर्ष रहेको पनि सुनाए। भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, योगेश भट्टराईलगायत नेपाल पक्षधर प्रभावशाली नेताहरू भने एकताकै पक्षमा रहेको पनि उनको भनाई छ। उनले वरिष्ठ नेता झलनाथ खनाल पनि एकताकै पक्षमा उभिने विश्वास दिलाए।
वरिष्ठ नेता माधव नेपालले भने एकताको लागि आफूहरू जतिसुकै गम्भीर बने पनि अध्यक्ष ओलीले त्यो किसिमको गम्भीरता नदेखाएको र एकताको लागि उदासीन रहेको टिप्पणी गरेका छन्।
हिजो काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूहरू अझै पनि एकताको लागि लागिपरेको बताएका थिए। तर, एकताको ढोका बन्द गरिए विकल्पमा जाने भन्दै नयाँ पार्टी खोल्न सक्ने सुनाएका थिए।