झ्याप्प झ्याप्प बत्ती किन गइरहेको छ – कुलमान
७ भदौ काठमाडौं ।अहिले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले झ्याप्प झ्याप्प बत्ती गइरहेको विषयमा सोधखोज गरेका छन् ।
सोमबार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, ७ वटै प्रादेशिक कार्यालयहरू, प्रदेश डिभिजन कार्यालयहरू र शाखाका प्रमुखहरूसँग भर्जुअल बैठक गरी उनले गुणस्तरीय विद्युत आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन कायम गर्न कठोर बन्न निर्देशन दिए ।
विना जानकारी झ्याप्प झ्याप्प बत्ती जाने गरेको, नयाँ बत्ती जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउने जस्ता गुनासो आउन थालेपछि यस्ता समस्या समाधान गरी सेवा प्रवाहमा सुधार ल्याउन प्राधिकरण व्यवस्थापनले पहल सुरु गरेको प्राधिकरणले जनाएको छ ।
उनले कसैको दबाब र प्रवावमा नपरी उच्च नैतिक आचरण देखाएर जिम्मेवार भई काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए । “विद्युत्को माग बढाउन ग्राहकले माग्नसाथ थ्री फेज मिटर दिनुपर्छ । प्रसारण तथा वितरण संरचनाहरूको सुदृढीकरण तथा स्तरोन्नति गर्ने योजना बनाई तत्काल काम सुरु गर्नुपर्छ । निर्माणाधीन आयोजनाहरूको छिट्टो सम्पन्न गर्नुपर्छ, रुग्ण बनेका र काम नगर्ने ठेकेदारसँगको ठेक्का तोड्नुपर्छ,’ उनले भने ।
खर्च नियन्त्रणका लागि स्टोरमा रहेका पुरानो सामानको अधिकतम प्रयोग गरी जिन्सी सामानको स्टक घटाउने, नयाँ सामान खरिदमा नियन्त्रण, काम नलाग्ने जिन्सी सामानहरूको लिलामी, ट्रान्सफर्मरहरूको मर्मत समयमै आफ्नै वर्कसपमा गरिने उनले बताए । वित्तीय अनुशासन कायम गर्न ठाडो खरिद, कोटेसनमार्फत् हुने खरिदको नियन्त्रण आर्थिक प्रशासन विनियमावलीलाई कडाइकासाथ पालना गरिने उनले बताए ।