उपत्यकामा निषेधाज्ञाको मोडालिटी के होला ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
4.5K
SHARES

८ भदौ काठमाडौं । काठमाडौं उपत्यकामा लागू रहेको निषेधाज्ञाको समयसीमा भदौ ८ (आज) समाप्त हुँदैछ। कोरोनाका संक्रमित नघटेका कारण चालु रहेको निषेधाज्ञा अझै परिमार्जित भएर जाने निश्चित छ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ढुण्डीप्रसाद निरौलाले आजै निषेधाज्ञाका थप रणनीतिबारे छलफल हुने जानकारी दिएका छन्। डिसी नेपालसँग कुरा गर्दै उनले अब हुने निषेधाज्ञा अझै वैज्ञानिक बनाएर लैजाने बताएका छन्।

‘आज पहिलो चरणमा जिल्लामा बस्छौं’ प्रजिअ निरौलाले भने, ‘त्यसपछि तीनवटै जिल्लाका प्रजिअहरुको छलफल हुन्छ। कोरोनाको संक्रमण बढेका कारण अझै पनि निषेधाज्ञा जारी रहने तर वैज्ञानिक तरिकाले जानेछ।’

हाल कोरोनाका बिरामीहरु बढ्दो क्रममा देखिन थालेपछि अझै वैज्ञानिक तवरबाट निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ। उनले भने, ‘हामीले सचेतनाका कार्यक्रमहरुलाई अझै प्रभावकारी बनाएर अगाडि बढ्छौ। मास्क लगाउने कुरामा अझै कडाई हुन्छ। भौतिक दूरी लगायतका स्वास्थ्य मापदण्डहरुको प्रयोगमा पनि अझै सचेत हुनु जरुरी छ।’

निषेधाज्ञाका कारण देशको अर्थतन्त्रमा ठूलो असर परिरहेकै छ। उक्त असरलाई पनि कम गर्न र अर्थतन्त्रलाई चलायमान बनाइराख्नका लागि परिष्कृत खालको निषेधाज्ञाको मोडालिटी आवश्यक्ता परेको प्रजिअ निरौलाको भनाइ छ।

निरौलाका अनुसार आगामी दिनमा विशेषगरी मेला महोत्सव र जात्राहरुलाई पूर्णरुपमा रोक लागइने छ। अन्य क्षेत्रका लागि स्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न लगाइने छ। यदि स्वास्थ्यका मापदण्डहरु पालना नगरेको पाइएमा कारवाही समेत गरिनेछ।

गत चैत्रबाट कोरोनाको दोस्रो लहर सुरु भएपछि बैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो। दुई महिनाको पूर्ण निषेधाज्ञापछि असारबाट वैज्ञानिक निषेधाज्ञामा परिणत गर्दै लिभिङ विथ कोरोनाको रणनीति अनुसार काम भइरहेको छ।

काठमाडौंका अस्पतालहरुमा आउने बिरामीहरुको संख्या बढिरहेको छ। भने कोरोनाको पोजेटिभिटी दर पनि बढ्दो क्रममा रहेको छ। काठमाडौं, ललितपुर र भक्तपुर तीनवटा जिल्लाहरुलाई एउटै क्षेत्र मानेर तीन जिल्लाका प्रजिअहरुको बैठकले निषेधाज्ञा सम्बन्धी निर्णय गर्ने गरेका छन्।

प्रजिअ निरौलाले भने, ‘आज बेलुकी ३ बजेपछि तीनवटै जिल्लाका प्रजिअहरुको छलफल हुन्छ। कसरी जाने भन्ने कुराको विस्तृत जानकारी त छलफलपछि नै थाहा हुन्छ। तर, सामान्य मेरो अनुमानमा भन्दा धेरै क्षेत्रहरुलाई ख्याल गरेर निषेधाज्ञा सम्बन्धमा निर्णय गर्नु पर्ने भएकाले वैज्ञानिक निषेधाज्ञाको विकल्प छैन।’