कांग्रेस सभापतिमा निधिले उम्मेदवारी दिने
११ भदौ काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका छन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका उपसभापति निधिले शुक्रबार नयाँ बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै आगामी निर्वाचनमा तीन वटै तहमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त गराउनका लागि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको बताए ।
उनले आफूले कसैलाई पराजित गर्न र कसैलाई अक्षम घोषित गर्नका लागि सभापतिको उम्मेदवार बन्न नखोजेको पनि स्पष्ट पारे । आफू कसैलाई रिटायर्ड गराउनका लागि सभापतिको उम्मेदवार नभएको उल्लेख गर्दै उनले कांग्रेसलाई मजबुत बनाउँदै रुख छापलाई हिमाल, पहाड, मधेशमा स्थापित गराउन र मतदाता र जनतासँग जोड्न आफ्नो उम्मेदवारी रहेको उनले स्पष्ट पारे । उनले भने, ‘मलाई विश्वास छ, नेपाली कांग्रेसलाई आगामी एक, डेढ वर्षपछि हुने आम चुनावमा, देशको सबै तहको चुनावमा रुख छापलाई जिताउन हामी सफल हुनेछौँ मलाई पूरा विश्वास छ । मेरो सम्पूर्ण ध्यान नेपाली कांग्रेसको सभापति हुने कुराको लागि मेरो उद्देश्य भनेको आगामी आम चुनावमा नेपाली कांग्रेसको रुख छापलाई देशभरमा बहुमत प्राप्त गराउनका लागि सम्पूर्ण आफ्नो बुद्धि, विवेक र संगठनलाई एकतावद्ध बनाएर, सबैलाई समेटेर आफ्नो भूमिका प्रस्तुत गर्नु नै मेरो सभापतिको उम्मेदवारीको उद्देश्य हो । म कसैलाई पराजित गर्न, कसैलाई असक्षम घोषित गर्न, कसैलाई रिटायर्ड गर्नको लागि म सभापतिको उम्मेदवार हुन खोजेको होईन । म नेपाली कांग्रेसलाई मजबुत बनाउन, नेपाली कांग्रेसको रुख छापलाई मतदाता र जनतासँग जोड्न, नेपालका हिमाल, पहाड, तराई, मधेश, झापादेखि कञ्चनपुरसम्मका मतदाता, जनताले, आदिवासी, दलित, महिला, मधेशी, अल्पसंख्यक, मुस्लिम, थारु लगायत सबैको मनमा यो विश्वास स्थापित होस् । भरोसा स्थापित होस् की रुख छाप हाम्रो पार्टी हो । रुख छाप नेपाली लोकतन्त्रको पार्टी हो । रुख छाप नेपालको सार्वभौमसत्ता, नेपालको राष्ट्रियता, नेपाली जनताको हक, हित जगेर्ना गर्ने छाप हो त्यो नेपाली जनता र मतदातामा फैलाउनको लागि म सभापति पदमा उम्मेदवारी दिने तयारी गरिरहेको छु ।’
उपसभापति निधिले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने बताए ।