आजदेखि लाइसेन्सको परीक्षा


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २० २०७८
3.9K
SHARES

२० भदौ काठमाडौं । वाग्मती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुन: सञ्चालन गर्दै छ ।

गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षामा (ट्रायल) संलग्न हुने, एकपटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण हुने तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजस्व बुझाइसकेका सेवाग्राहीका लागि परीक्षा सञ्चालन हुने जनाएको छ ।

यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७८’ स्वीकृत गरेसँगै रोकिएका परीक्षा सञ्चालन गर्न मन्त्रालय मातहतका निकायलाई बाटो खुला भएको हो । कोरोनाका कारण देशभर परीक्षा रोकिँदा करिब आठ लाख सेवाग्राही समस्यामा परेका जनाइएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले अब सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७८ का अनुसार परीक्षा हुने जानकारी दिए ।