वाइसीएल नेपाल : संयोजकमा देवकोटा र सह-संयोजकमा सेर्पाली


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
11.2K
SHARES

२२ भदौ काठमाडै । आज  नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिस्ट लीग (वाइसीएल) नेपालको पहिलो केन्द्रीय कमिटी बैठकले संगठनको नेतृत्व चयन गरेको छ ।

मंगलबार काठमाडौंको गौशालास्थिति अनुपम पार्टी प्यालेसमा बसेको बैठकले संयोजकमा सुमन देवकोटा र सह-संयोजकमा सुबोधराज सेर्पालीलाई जिम्मेवारी दिएको हो । वाइसीएल नेपालका पहिलेका परम्परालाई तोड्दै यो पटक केन्द्रीय कमिटीले निर्णय गरेको हो ।

१२ भदौदेखि चार दिनसम्म चलेको राष्ट्रिय सम्मेलनले वाइसीएल नेतृत्व तय गर्न नसकेपछि सोहीबेला पार्टीको स्थायी कमिटी बैठक बसेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वाइसीएलको केन्द्रीय पदाधिकारी चयन गर्ने भएका थिए । तर, व्यक्तिगत रूपमा नेतृत्व चयन गर्नु न्यायसंगत नहुने भन्दै मंगलबारका लागि वाइसीएल केन्द्रीय कमिटी बैठक बसेर पदाधिकारी चयन गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

माओवादी शान्ति प्रक्रियामा आएपछि गणेशमान पुन (रश्मी) को नेतृत्वमा गठन भएको वाइसीएलले तत्कालीन महासचिव रामचन्द्र शर्मा (विज्ञान)लाई अध्यक्षको जिम्मेवारी दिएको थियो । विज्ञानको नेतृत्वमा महासचिव रहेका रामप्रसाद सापकोटा (दीपशीखा) ले वाइसीएलको नेतृत्व पाएका थिए । तर, यो पटक भने महासचिव रहेका सुवोधराजलाई जिम्मेवारी दिनुको सट्टा उपाध्यक्ष रहेका सुमनलाई संयोजकको जिम्मेवारी दिइएको भन्दै केन्द्रीय कमिटीकै पदाधिकारीले आपत्ति जनाएका छन् ।

वाइसीएलको राष्ट्रिय भेलामा आएका प्रतिनिधिमा ७५ प्रतिशत बढीको समर्थन र केन्द्रीय कमिटीमासमेत स्पष्ट बहुमतमा रहे पनि भेलाबाट अध्यक्ष बन्न नदिन निवर्तमान अध्यक्ष दीपशीखाले भूमिका खेलेको आरोप लागेको छ । वाइसीएलको विधानबमोजिम ६ महिना मात्रै उमेरहद बाँकी रहेका देवकोटालाई वाइसीएलको नेतृत्वमा पुर्‍याउन प्रचण्डले स्थायी कमिटीको बहुमतको निर्णयदेखि वाइसीएलको केन्द्रीय समितिको भावना र विश्वासलाई किन कुल्चिए भन्ने प्रश्न भने पेचिलो बन्दै गएको छ ।