पर्यटन क्षेत्र तत्काल खुला गर्नुपर्छ : व्यवसायी


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
12.1K
SHARES

२२ भदौ काठमाडौ । पर्यटन व्यवसायीले कोरोना महामारीपछि पर्यटन क्षेत्रमा लगाइएका असहजता हटाउन माग गरेका छन् ।

उनीरहरूले नेपालका प्राय सबै मुख्य गन्तव्यहरूमा कोभिड विरुद्धको भ्याक्सिन लगाउने दर उच्च रहेको र अग्रपंक्तिमा सेवा दिने सबै पर्यटनकर्मीहरूले  भ्याक्सिन लगाइसकेको भन्दै पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले तत्काल ‘पूर्ण डोज खोप लगाएका पर्यटकलाई क्वारेन्टीनमा बस्नुनपर्ने, पर्यटकलाई अनअराईभल भिसा उपलब्ध गराउनु पर्ने, सुरक्षित गन्तव्यहरू र गतिविधिहरू पहिचान गरि प्रचारित गर्नुपर्ने, र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर र एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाएर पर्यटकहरूको भ्रमणका लागि सहज वातावरण बनाउन माग गरेका हुन् ।

होटल एसोसियसन नेपालका अध्यक्ष सिर्जना राणाले पर्यटकीय गन्तव्य खुला गरेर नेपाल पर्यटन बोर्डले नेपालका गन्तव्यको बारेका सकारात्मक सुचना प्रवाहमा काम गर्नुपर्ने बताइन् ।

“निजी क्षेत्रले आआफ्नो तरिकाले सूचना प्रवाह गर्दा त्रुटि हुने सम्भावना पनि हुन्छ,” उनले भनिन्, “त्यसैले बोर्डले निजी क्षेत्र र सरकारकाबीच पुलको काम गर्नुपर्छ । आजका दिनमा सरकारले गरेको निर्णय खोज्दै बस्नु पर्ने अवस्था छ । यसले समस्या सिर्जना गरेको छ ।”

नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभलका अध्यक्ष अच्युत गुरागाईले आन्दोलन र राजनीतिक कार्यक्रममा कोरोना नहुने तर पर्यटक ल्याउँदा मात्र कोरोना संक्रमण बढ्छ भन्ने सोचले पर्यटन क्षेत्रलाई थप धरासायी बनाउने बताए । यस्तै, पाटा नेपाल च्याप्टरका अध्यक्ष विभु चन्दले निजी क्षेत्रले एकमत साथ उठाएको मागलाई सरकारले सम्बोधन गर्दै पर्यटन क्षेत्रलाई चलायमान बनाउनु पर्ने बताए ।

पर्यटन व्यवसायी वसन्त मिश्र र पर्यटन विद विजय अमात्यले संकटका बेला प्रभावकारी संचार र ब्रान्ड भिजिबिलिटी अत्यन्तै महत्वपूर्ण हुने भएकाले यसलाई पनि प्राथमिक्ताका साथ हेनुर्पर्ने सुझाए ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत जोशीले आफूले गरेको अध्ययनमा मुख्य पर्यटकीय गन्तव्यमा काम गर्ने ९५ प्रतिशतभन्दा बढी कर्मचारीले पूर्ण डोज नै खोप लगाएको पाइएकाले पर्यटन क्षेत्रलाई तुरुन्तै चलायमान बनाउनुपर्ने बताए ।

ट्रेकिङ एजेन्जी एसोसियसन अफ नेपालका महासचिव सरिता लामाले सरकारले समयमै निर्णय गर्न नसक्दा पर्यटक आउने यो सिजन (सेप्टेम्बर –नोभेम्बर) बाट पनि व्यवसायीले लाभ लिन नपाउने बताइन् ।

“पर्यटकले नेपाल आउने चासो राखेका छन् । सरकारले १० दिन क्वारेन्टिन बस्नुपर्ने नियम बनाएको छ ”, उनले भनिन्, “नेपाली विदेशबाट आउँदा क्वारेन्टिन बस्ने नियम छैन् ।”

पाटा मुख्यालयका सचिव एवं पर्यटन व्यवसायी सुमन पाण्डेले खोप लगाएका पर्यटकलाई क्वारेन्टिनको प्रावधान हटाँउदै अनअराईभल भिषा दिनु पर्ने माग गरे ।

पर्यटन विज्ञ तथा व्यवसायी राज ज्ञवालीले ६ महिनादेखि सरकारले ट्राभल एडभाइजरी जारी नगर्दा पर्यटकलाई आउन समस्या भएको बताउँदै सरकारले तत्काल एडभाइजरी जारी गर्नु पर्ने बताए । जवाफमा अध्यागमन विभागका निर्देशक झंकनाथ ढकालले पर्यटन बोर्ड र पर्यटन विभागको सिफरिसमा पर्यटक भिसा दिनुपर्ने गरी मन्त्रिपरिषद्को बैठकले निर्णय गरेकाले ट्राभल एडभाइजरी जारी गर्न नसकिएको र अन अराइभल भिसा पुनः सुचारु गर्ने निर्णय गराउन आफू पनि सकारात्मक रूपले सक्रिय रहेको बताए ।

त्यसैगरी स्कल नेपालका उपाध्यक्ष सर्वोत्तम श्रेष्ठ, व्यवसायीहरू शिव ढकाल, पंकज प्रधानांग, विनोद अधिकारी लगायतले पर्यटन क्षेत्रमा प्रतिबन्ध कायम रहँदा नेपाल आउन खोज्ने पर्यटन नै हतोत्साही हुँदै गइरहेकाले सरकारले तत्काल प्रतिबन्ध हटाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा उपस्थित नेपाल पर्यटन बोर्डका मार्केटिङ विभाग प्रमुख लक्ष्मण गौतमले व्यवसायीका माग सम्बोधनका लागि आफूहरूले मन्त्रालयसँग समन्वय गरिरहेको बताए ।