काठमाडौं महानगरको सहरी व्यवस्थापनमा सहकार्य गर्न तयार छौँ
२७ भदौ काठमाडौँ । अहिले स्थानीय सरकार तथा सहरहरूको अन्तर्राष्ट्रिय सञ्जाल एसिया प्यासिफिकका अधिकारीहरूले काठमाडौँ महानगरको सहरी व्यवस्थापनमा सहकार्य गर्न इच्छा देखाएका छन् । शनिबार सञ्जालका एसिया प्यासिफिक अध्यक्ष अशोक व्याञ्जु, महासचिव डा. बर्नाडिया इरावती जन्द्रादेवी, काठमाडौँ महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, प्रशासन विभागका प्रमुख महेश काफ्ले, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख डिल्लीराम बास्तोलासहित अधिकारीविच अन्तरदेशीय सहकार्यमा काठमाडौँ महानगरका विषयमा कुराकानी भएको थियो ।
त्यस क्रममा सञ्जालका अध्यक्ष व्याञ्जुले, काठमाडौँ देशको मुहार भएकोले यसलाई थप उज्यालो बनाउन सहकार्य उपयुक्त हुने बताए । “काठमाडौँमा गरिएका अभ्यासले अन्य सरकारमा पनि लाभ पुग्ने भएकोले काठमाडौँसँग सहकार्य गर्ने हाम्रो प्रस्ताव हो,” व्याञ्जुको भनाइ थियो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले, अन्तरनगर सिकाइबाट नागरिक तहमा लाभ प्रदान गर्न महानगरले राष्ट्रिय अन्तर्राष्ट्रिय नगरहरूसँग भगिनी सम्बन्ध स्थापना गरेको उल्लेख गरे ।
“सहरी विकास र व्यवस्थापनका कोणबाट काठमाडौँसँग सम्भावना र क्षमता दुवै छन् । यो क्षमतालाई पूरा उपयोग गर्न काठमाडौँको सक्रियता भए हामी सहकार्य गर्न तयार छौँ,” छलफलमा सञ्जालकी महासचिव डा. बर्नाडियाले धारणा राखेकी थिइन् ।
सञ्जालको आठौँ सम्मेलन भदौ २२ गतेदेखि २४ गतेसम्म काठमाडौँमा सञ्चालन भएको थियो । सम्मेलनमा स्थानीय सरकार प्रमुखहरूले कोभिड व्यवस्थापनमा आफूले गरेको प्रयास र अब चुनौतीका विषयमा विचार राखेका थिए । सञ्जालमा विश्वभरका २ लाख ४० हजार बढी सहर र एशिया प्यासिफिक क्षेत्रबाट ७ हजार बढी सहरहरू सदस्य छन् । यसमा काठमाडौँ महानगरसहित नेपालका १० वटा पालिका सदस्य छन् ।