ज्येष्ठ नागरिक रिझाउन विप्लव नेकपाको यस्तो प्रयास
२८ भदौ उदयपुर । सरकारले लगाएको प्रतिबन्ध फुकुवासँगै खुल्ला राजनीतिमा आएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरले जनता रिझाउने प्रयास गरेको छ।
ग्रामीण भेगलाई लक्षित गरी नेकपाले पार्टीको कार्यदिशा अनुसार कम्युनिष्ट समाज निर्माणका लागि जनता रिझाउने गरी कार्यक्रम अघि सारेको हो। अभियानमा जनता र पार्टीलाई उत्पादनसँग जोड्ने गरी कार्यक्रम, जेष्ठ कम्युनिष्ट नेता सम्मान तथा भत्ता, बासस्थलको व्यवस्थापन जस्ता कार्यक्रम रहेको जिल्ला इन्चार्ज विवेक कुमालले बताए।
उनले लामो समय कम्युनिष्ट आन्दोलनमा लागेर घरविहीन भएर बसेका जेष्ठ कम्युनिष्टको घर पार्टीले जिम्मा लिएर बनाईदिने र आर्थिक रूपले विपन्न रहेकाहरुलाई मासिक दुईदेखि पाँच हजारसम्म सहयोग गर्ने जानकारी दिए।
अभियान अन्तर्गत नेकपाले उदयपुरका अग्रज तीन कम्युनिष्ट नेतालाई सम्मान गरेको छ। उदयपुरका कम्युनिष्ट आन्दोलनका अगुवा कटारी नगरपालिका १० सोरुङ्गछविसे वरडाँडाका ८८ वर्षीय पूर्णबहादुर खत्रीको जन्मोत्सवको अवसरमा उनी बस्दै आएको ठाउँमा कार्यक्रम आयोजना गरी सम्मान गरेको हो।
जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलका अनुसार खत्री, सोही ठाउँका ५५ वर्षीय चन्द्रबहादुर खत्री र ताप्लि गाउँपालिका ५ रुपाटारका ६७ वर्षीय गौरबहादुर देवकोटालाई दोसल्ला ओढाएर सम्मान गरिएको हो। सोही अवसरमा घरविहीन भएर सामान्य झुप्रोमा बस्दै आएका ८८ वर्षीय पूर्णबहादुरको घर निर्माण गर्ने जिम्मा नेकपाले लिएको उनले बताए।
तीन महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी घरको शिलान्यास गरिएको उनले बताए। उनले भने, ‘सहयोगी निकायहरुको साथसहयोगमा चाँडै पूर्णबहादुरको घर बनाएर हस्तान्तरण गर्नेछौँ।’ पूर्णबहादुरका दुई छोरा भएपनि शारीरिक रूपमा अशक्त तथा अपाङ्ग रहेको सेक्रेटरी पौडेलले बताए।
पौडेलका अनुसार पूर्णबहादुरको परिवारलाई पार्टीले मासिक दुई हजार उपलब्ध गराउँदै आएको छ।
आफ्नो जन्मोत्सव मनाई दिएकोमा खुशी व्यक्त गर्दै खत्रीले सामान्तवादीको अन्त्य र जनवादी गणतन्त्र स्थापना नभएसम्म आन्दोलन नरोकिने बताए। ‘मेरो शरीर केही गलेको होला तर विचार गलेको छैन’, उनले भने, ‘त्यसैले निरन्तर क्रान्तिमा होमिन आग्रह गर्दछु।’
सेक्रेटरी पौडेलले पार्टी सवल, सक्षम र आत्मनिर्भर बनाउन उत्पादनसँग जोडिदै गइरहेको बताए। ‘सबै नेता, कार्यकर्ता र पार्टीलाई उत्पादनसँग जोड्ने पार्टीको नीति छ’, उनले भने, ‘अब बाँझो जग्गाको व्यवस्थापन गरी कृषि क्रान्तिमा होमिन्छौँ, त्यसको लागि उदयपुरबाट सुरु भइसकेको छ, अबको पाँच वर्षभित्र उत्पादित वस्तुको बिक्रीबाट पार्टीका नियमित गतिविधि सञ्चालन गर्छौँ।’