पर्यटनमा सुधारको संकेत
२८ भदौ काठमाडौ । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको छ । विश्वप्रसिद्ध अन्नपूर्ण सर्किटअन्तर्गत पर्ने म्याग्दीका पर्यटकीय स्थलमा चहलपहल देखिन थालेको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै जिल्लाका पर्यटकीय स्थल भ्रमणमा रोक लगाइएको थियो । वैशाख दोस्रो सातादेखि सुनसान रहेका पर्यटकीय स्थलमा कोरोना संक्रमण कम हुँदै गएपछि फाट्टफुट्ट पर्यटक आउन थालेका हुन् ।
घोडेपानी, मोहरेडाडा, खोपारा, टोड्के, रुइसे, झाँक्रीपानी, धौलागिरि र अन्नपूर्ण आधार शिविर, नारच्याङ झरना, मायालुडाँडालगायतका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको आगमन शुरु भएको छ । सिङ्गा, भुरुङ-तातोपानी, गुर्जा, ढोरपाटन सिकार आरक्ष, गुर्जालगायतका स्थलमा भ्रमण खुलाउन सम्बद्ध पालिका र प्रशासन कार्यालयमा अनुमति मागिएको छ ।
अन्नपूणर् गाउँपालिका-६ स्थित पर्यटकीयस्थल घोडेपानीको टोल सुधार समितिका संयोजक विरेन गर्बुजाले आन्तरिक पाहुना आउन थालेकाले आगामी असोज १ गतेदेखि सबै पाहुनालाई भ्रमण खुला गरिने जानकारी दिएको राससले उल्लेख गरेको छ । घोडेपानी-पुनहिल क्षेत्रको भ्रमणका लागि फाट्टफुट्ट पाहुना आउन थालेको गर्बुजाले बताए । असोज १ गतेदेखि औपचारिकरुपमै होटल र पर्यटकलाई भ्रमणका लागि खुला गर्ने तयारी भएको उनको भनाइ छ ।
गाउँपालिकाको अर्को पर्यटकीयस्थल भुरुङ तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष अमृतमान शेरचनले मुस्ताङमा निषेधाज्ञा हटाइएपछि त्यहाँ जाने आउने पाहुनाका लागि पनि बाटामा पर्ने भएकाले होटल खुलाइएको बताए । उनका अनुसार बिस्तारै पर्यटक आउन थालेका छन् ।
प्राकृतिक उपचार स्थलका रुपमा परिचित बेनी नगरपालिका-४ सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले स्नानका लागि खुला गर्न नगरपालिका र प्रशासनसँग अनुमति मागिएको बताए । तत्काललाई कोरोनाविरुद्धको खोप लगाएकालाई स्नान गर्न मिल्ने गरी तातोपानी कुण्ड खुलाउन प्रस्ताव गरिएको उनले जानकारी दिए । असोज-कात्तिक मुख्य पर्यटकीय याम हो । पर्यटन विभागका अनुसार आगामी याममा म्याग्दीस्थित धौलागिरि हिमाल आरोहणका लागि ४० जनाले अनुमति पाइसकेका छन् ।