इन्चार्ज नपाउँदा रावललाई भयो छटपटी


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २९ २०७८
3.3K
SHARES

२९ भदौ काठमाडौं । अहिले नेकपा (एमाले)मा जेठ २ गतेको विवाद बल्झिएको छ । पार्टी कमिटीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने विषयमा लामो समयसम्म एमालेमा विवाद चर्किएको थियो ।

तेस्रो धारका नेता विवाद समाधान कार्यदलमा भएको १० सहमति बुँदे कार्यान्वयन हुने सर्तमा एमालेमै रहे । तर, दुई महिना नपुग्दै जेठ २ का विषयमा फेरि विवाद बल्झिएको हो । पार्टीमा भएको १० बुँदे सहमति कार्यान्वयन नहुने भन्दै नेताहरू सशंकित हुन थालेका छन् ।

अहिले एमालेमा सुदूरपश्चिम प्रदेश इन्चार्जका विषयमा विवाद देखिएको छ । नेकपा (एमाले)मा जेठ ३ अघि संयोजक र सहसंयोजक थिए । एमाले र माओवादी केन्द्रबीच एकता हुँदा इन्चार्ज पद राखियो ।

०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा भंग हुँदा माओवादीका केही नेताहरू एमालेमा नै रहे । माओवादी छाडेका लेखराज भट्टलाई अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम इन्चार्ज बनाएका थिए ।

पार्टी जेठ २ को अवस्थामा पुग्दा उपाध्यक्ष भीम रावल सुदूरपश्चिम प्रदेशको संयोजक हुनुपर्ने हो । तर, अहिले एमालेमा संयोजकको भूमिका छैन । रावलले आफूले सुदूरपश्चिम प्रदेशको इन्चार्ज पाउनुपर्ने माग राखेका छन् । अरू प्रदेशमा भने तत्कालीन संयोजकले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

तर, ओलीले भने सुदूरपश्चिमको इन्चार्जमा भट्ट र अध्यक्षमा कर्ण थापा नै रहने निर्णय सुनाएका छन् । गएको आइतबार ओलीले आफ्नो निवास बालकोटामा रावल, भट्ट, थापा र नेताहरू विष्णु पौडेल र सुवास नेम्वाङलाई डाकेका थिए । ओलीले रावललाई उपाध्यक्षको हैसियतमा सहजीकरणको भूमिकामा रहन आग्रह गरेको भट्टले बताए ।

“अहिले पार्टीले नयाँ निर्णय केही गरेको छैन । इन्चार्ज लेखराजजी र अध्यक्ष कर्ण थापाजी नै हो । तपाईं उपाध्यक्षको हैसियतले सहजीकरण समितिको नेतृत्व गर्नुस् भन्नुभयो,” भट्ट भन्छन्, “रावलजीले जेठ २ मा फर्कनुपर्छ भन्नुभयो । त्यसपछि हामी फेरि बसौँला भनेर उठ्यौँ । तर, अध्यक्षले आफ्नो निर्णय सुनाउनुभएको हो । फेरि बस्नुनपर्ला ।”

रावलले भने ओलीको निर्णयमा असन्तुष्टि जनाएका छन् । त्यसलगत्तै उनले आफूनिकट नेताहरूसँग छलफल पनि गरेका थिए । ओलीको निर्णयले रावललाई छटपटी भएको एक नेताले सुनाए ।

१० बुँदे कार्यान्वयन नभए विकल्प खोज्नुपर्ने उनले आफूनिकट नेताहरूसँग बताएका छन् । “१० बुँदे कार्यान्वयन गर्ने सहमति भएपछि नै एमालेमा बसिएको हो । अहिले जेठ २ मा जानसमेत आनाकानी भइरहेको छ । १० बुँदे कार्यान्वयन नभए हामीले विकल्पसमेत खोज्नुपर्छ भन्ने उहाँको कुरा हो,” रावलनिकट एक नेताले भने ।