अब एमालेले ०७४ को वर्चश्व फर्काउँछ – नेता भुसाल


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ३० २०७८
8.5K
SHARES

३० भदौ काठमाडौ ।देशकाे सबैभन्दा ठूलाे राष्ट्रिय शक्ति नेकपा एमाले भएकाे उपमहासचिव घनश्याम भुसालले बताउनु भएकाे छ । बुटवलमा आयाेजित कार्यकर्ता भेलामा बाेल्दै उपमहासचिव भुसालले भन्नुभयाे – ‘आज पनि हामी ठूलो पार्टी हौं, ठूलो शक्ति हौं, राष्ट्रिय रुपमै ठूलो शक्ति हौं, हामी ठूलो शक्ति हौं भनेर कुनै हिसाबले मात्तिने छुट छैन, हामी मात्तिनु हुँदैन ।’

राष्ट्र,राष्ट्रियता र विकासका कुरा र काम गर्ने शक्ति पनि एमाले मात्र रहेकाे भुसालले बताउनुभयाे । देशकै ठूलाे पार्टी एमाले भएकाे भन्दै उहाँले नआत्तिन नेता कार्यकर्तालाई आग्रह गर्नुभयाे ।

नेकपा एमाले केही पछारिएकाे भन्दै उहाँले फेरि धुलो टकटक्याउँदै उठ्ने बताउँदै उहाँले भन्नुभयाे – ‘एमाले मुलुकको सर्वथा ठूलो र प्रभावकारी भूमिका खेल्नुपर्ने ठाउँमा आज पनि छ, यो सानोतिनो कुरा होइन, पार्टीभित्र मात्र हाेइन पार्टी बाहिर पनि पूर्ण लाेकतन्त्रका साथ ०७४ सालकाे बर्चस्व हामी त्यसैगरी गयाैं भने फेरि फर्काउँछाैं,एमालेकाे नेतृत्वमा मात्र विकास र समृद्धि सम्भव छ ।’

न्याय र समानताका लागि याेगदान गर्ने पार्टी पनि एमाले भएकाे भन्दै उहाँले साेही अनुसार अगाडि बढ्नुपर्ने बताउनुभयाे । दलाल पुँजीबादीसँग एमालेबाहेक अरुले लड्न नसक्ने बताउँदै उहाँले भन्नुभयाे – ‘हामी दलाल पुँजीवादसँग लड्नुपर्छ,कांग्रेस, माओवादी र माधवकुमार नेपालकाे पार्टी पनि लडे हुन्छ तर तर आजकाे दिनमा नेकपा एमालेले याे काम गरेन भने अरु कसैले गरेर पूरा हुँदैन ।’

देश र जनताले भराेसा गरेकाे पार्टी पनि नेकपा एमाले भएकाे बताउँदै उहाँले भन्नुभयाे – ‘नेकपा एमाले जिम्मेवारी भइदिएन भने यो मुलुकको भाग्य के हुन्छ ? यसबारे छलफल भएको छैन, यसमा छलफल होस्,सामाजिक र सांस्कृतिक रुपमा पार्टीले जरा गाडिसकेको एमालेको अभाव अरुले पूर्ति गर्न सक्दैन ।’

एमाले धेरै ठूलो अप्ठ्यारोबाट अघि बढेपनि चिन्ता गर्नुपर्ने अवस्था नरहेकाे उहाँले बताउनुभयाे । विगतमा आफूहरु भाडिएका भन्दै उहाँले सबैले आआफ्नाे समीक्षा गर्न जरुरी रहेकाे बताउनुभयाे । ‘यो बीचमा हामी केही समय भाँडिएका हौं, कसकसले के के कमजाेरी गर्‍याैं, हामी ठन्डा दिमागले सोचौं समीक्षा गराैं, दूधकाे दूध पानीकाे पानी हुन्छ’-भुसालकाे भनाइ छ ।

यही समीक्षा गर्न नसकेर माधव नेपालहरु बाहिरिनुभएकाे पनि भुसालले बताउनुभयाे । नेपालमा एमालेको अभाव अरु कसैले पूरा गर्न नसक्ने बताउँदै उहाँले भन्नुभयाे – ‘एमालेलाई बलियो बनाउनुपर्छ, यही कुरा माधव कुमार नेपाललाई बुझाउन सकेनौं, उहाँले नबुझे जस्तो लाग्दैन, मैले व्यक्तिकाे कुरा गर्दिनँ,उहाँकाे पार्टीका धेरैले बुझ्नुभएकाे छ, विधानबाट जब हामी समेटिएर व्यवस्थित भएर आउनेछौं, त्यसपछि माधव कमरेडलाई बुझाउन समीक्षा गराउन बाध्य पार्नेछौँ ।’