एमाले विरोधी महागठबन्धनलाई चुनावबाटै धुलो चटाउँछौं – नेता रायमाझी


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ३० २०७८
12.2K
SHARES

३० भदौ बुटवल ।आज नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले एमाले र केपी ओलीविरुद्धको महागठबन्धनलाई चुनावबाटै परास्त गर्ने बताएका छन् । बुटवलमा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रायमाझीले प्रचण्डले नेकपा विभाजन गरेर हिँडेकाले आफूहरू मूल नेतृत्व केपी ओलीलाई नै मानेर एकतामा बसेको बताए ।

रायमाझीले भने, ‘पार्टी एकतालाई व्यक्तिगत फाइदाको लागि उपयोग गर्न खोज्नुभयो । अनावश्यकरूपमा खिचलो सिर्जना गरेर फुटाउने कुचेष्टा गर्नुभयो । हामीले अन्तिमसम्म ओलीको नेतृत्वमा पार्टीलाई एकताबद्ध राख्न खोज्यौं तर उहाँहरूको नियत ठीक नभएकाले नेकपा छाडेर भाग्नुभयो ।’

पूर्वमाओवादी समूहका नेता रायमाझीले केपी ओलीले समृद्धिको नेतृत्व गरेका कारण आफूहरू प्रचण्डसँग जान नसकेको भन्दै ओली र एमालेविरुद्धको महागठबन्धनलाई परास्त गरिने बताए ।

रायमाझीले भने, ‘सूर्य र गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव लडेर जित्ने अनि रुख चिन्हको नेतालाई प्रधानमन्त्री बनाउन हिँड्नेहरूले ऐतिहासिक भूल गरेका छन् । कांग्रेसको पुच्छर भएर हिँडेकाहरूले समाजवादको कुरा गर्न सुहाउँदैन ।’

रायमाझीले आफ्नै बुतामा चुनाव लडेर जित्ने हिम्मत नभएपछि कांग्रेसको सहारा खोज्न प्रचण्ड माधव हिँडिरहेको आरोप लगाए ।