नेपालमा कोभिडको तेस्रो लहरको जोखिम टरेको हो ?
७ असोज काठमाडौं । पछिल्ला दुई साता नेपालमा कोभिड १९ संक्रमित तथा मृत्यु हुनेको संख्या घट्दो क्रममा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहरको संक्रमण आउनसक्ने भन्दै सचेत गराइरहँदा दैनिक थपिने संक्रमित तथा मृत्यु हुनेको संख्या घटेको हो । यद्यपि संक्रमणको कम भए पनि नयाँ भेरियन्ट म्युटेसन हुनसक्ने र संक्रमण बढ्नसक्ने मन्त्रालयले जनाएको छ ।
भदौयता निरन्तर घट्दो संक्रमण
गत चैत अन्तिमदेखि जेठ पहिलो सातासम्मको अवधि कोभिड संक्रमणका र संक्रमितको मृत्युका हिसाबले कठिनपूर्ण अवस्थाको तथ्यांक छ । यो अवधिमा नयाँ संक्रमित थपिने दर र टेष्ट पोजेटिभिटी दर ३५ प्रतिशतसम्म पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । असारयता केही मत्थर भएको कोभिड संक्रमण साउनमा पनि निकै उच्च हुनपुग्यो ।
साउन महिनापछि संक्रमण दर निरन्तर घट्दो क्रममा छ । भदौ दोस्रो सातादेखि असोज पहिलो सातासम्म नेपालमा १ लाख ९८ हजार ३६६ वटा नमूनाको परीक्षण भएको छ । यो परीक्षणबाट २३ हजार ९३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयलको तथ्यांक छ । नेपालमा दोस्रो लहरको कोभिड १९ संक्रमण उच्च भएयता साउन महिनामा सबैभन्दा धेरै संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । असार मसान्तसम्म ६ लाख ६२ हजार ५७० रहेको कोभिड संक्रमितको संख्या साउन ३२ गतेसम्म आइपुग्दा ७ लाख ३४ हजार ८३८ पुग्यो । यो एक महिनाको अवधिमा थपिने संक्रमितको तुलनामा निको हुनेको संख्या निकै कम रह्यो ।
साउनमा ५८ हजार ६७२ जना संक्रमणमुक्त भए । थपिने संक्रमितको संख्या ७२ हजार २६८ थियो । त्यस्तै, साउन महिनाभर मात्रै संक्रमणका कारण ८६४ जनाको मृत्यु पुष्टि भएको मन्त्रालयको तथ्यांक छ । सक्रिय संक्रमितको दर ४ प्रतिशतबाट बढेर ५.३६ प्रतिशत पुगेको थियो भने दैनिक टेस्ट पोजिटिभिटी दर २२ प्रतिशतभन्दा बढी रह्यो । साउनको अन्तिम साता नेपालमा प्रत्येक ४ जनामा परीक्षण गर्दा १ जनामा कोभिड संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।
तर, भदौ महिनामा थपिने कोभिड सं्रकमितको संख्या साउनको भन्दा झन्डै २६ हजारले कम छ । भदौ महिनाका ३० दिनमा नेपालमा २ लाख ९४ हजार ३८ वटा नमूनाको परीक्षण गरिएको थियो । यो परीक्षणबाट ४६ हजार ४१४ जनामा संक्रमण पुष्टि भएको थियो । भदौका ३० दिनमा संक्रमणमुक्त हुनेको संख्या तुलनात्मक रुपमा साउनभन्दा बढी ५८ हजार ३८६ छ जुन थपिने संक्रमितको संख्याभन्दा बढी हो । साउनमा ७२ हजारभन्दा बढी संक्रमित थपिँदा निको हुनेको संख्या ५८ हजार ६७२ निको थियो । भदौका ३० दिनमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या ६६४ रहेको छ जुनसंख्या साउन महिनामा ८६४ थियो ।