‘म’बाट रूपान्तरण सुरु गरौं, क्रान्तिकारी पार्टी बनाऔं – अध्यक्ष प्रचण्ड
७ असोज काठमाडौं। आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू बिग्रिएकोले सच्चिन तयार रहेको बताएका छन्। बिहीबार वाईसीएलको पाँचखाल नगर सम्मेलनमा प्रचण्डले आफूलाई पहिले सच्याएमा रूपान्तरण हुने बताए।
‘म अरुलाई धेरै भन्दिनँ। बिग्रिएको मै हुँ। अब म सच्चिन्छु। अरु को-को सच्चिने, नसच्चिने तपाईंहरु सोच्नुस्,’ उनले थपे, ‘हिजो जनयुद्धमा हामफालेँ। अर्कोपटक शान्ति प्रक्रियामा हामफालेँ। कहिले संविधान बनाउनमा हामफालेँ। पार्टी एकतामा हामफालियो। फेरि समाजवादी क्रान्तिका लागि म चाहिँ हामफालेँ फालेँ। तपाईं/हामी सबैले यो फटाहाले बिगार्यो भन्नुभन्दा, मैले के बिगारेँ भन्ने सोच्न थालियो भने त्यहींबाट रूपान्तरण सुरु हुन्छ।’
आफू जालझेल, ठकठाकमा लागे पनि अरुलाई दोष दिने प्रवृत्ति पार्टीमा रहेको उल्लेख गर्दै प्रचण्डले यसबाट क्रान्तिकारी पार्टी नबन्ने पनि बताए। ‘भ्रष्टाचार खुब गरिया छ। ठकठाक गरिया छ। ठेक्कापट्टा पाउनका लागि मरिहत्ते हाल्या छ। कमिसन खाना मरिहत्ते हाल्या छ। अनि म चाहिँ बिग्रिया छैन भन्ने लाग्ने फेरि। त्यो चाहिँ बिग्रियो भन्नेतिर लागेपछि यो पार्टी क्रान्तिकारी हुँदैन,’ प्रचण्डको भनाइ थियो, ‘म चाहिँ बिग्रियोबाट सुरु गर्नुपर्यो। म बन्नु पर्छ भन्नेबाट सुरु गरियो भने सबै बन्छन् अनि त्यसपछि क्रान्तकारी पार्टी बन्छ।’
पछिल्लो समय नेताहरुको प्रवृत्ति नबदल्ने हो भने पार्टी विघटन गर्नुपर्छ भन्ने धारणा राख्दै आएका प्रचण्डले उक्त कार्यक्रममा पनि चुनाव जितेकाहरु धेरै बिग्रिएको टिप्पणी गरे। ‘तल ग्राउन्डमा बस्ने कार्यकर्ता कोही बिग्रिएका छैनन्। बिग्रिएका भनेका टाठाबाठा, चुनाव जितेका धेरैजसो छन्,’ प्रचण्डले भने, ‘मेरो अनुभवले के देखायो भने जल्लाई धेरै मन्त्री बनाएँ त्यही सबभन्दा धेरै भगौडा। त्यही धोकेबाज। कोही कोहीलाई मन्त्री बनाएसी ठीक हुन्छ भन्ठानेको त के को हुन्थ्यो ?’