माओवादी केन्द्रबाट को-को बन्दैछन मन्त्री ?
८ असोज काठमाडौं । अहिले सत्ता घटक नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको सूचीबारे छलफल सुरु गरेको छ । माओवादी प्रवक्ता कृष्णबहादुर महराले बुधबारको स्थायी समिति बैठकपछि बिहीबार मन्त्रिपरिषद् विस्तार हुने बताउँदै बिहीबार नै माओवादीबाट मन्त्री हुनेहरूको नाम टुंगो लगाउने बताएका थिए ।
अध्यक्ष दाहालले सरकारमा पठाउने मन्त्रीहरूको नामबारे पार्टीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । शेरबहादुर देउवा नेतृत्व सरकारमा माओवादीले ६ मन्त्रालय र एक राज्यमन्त्री पाउने लगभग टुंगो लागेको छ । तर कुन कुन मन्त्रालय पाउने भन्ने विषयमा निर्णय भैसकेको छैन ।
नेकपा माओवादीमा अहिले ७ जना सांसदहरू मन्त्रीका लागि दाबेदारका रुपमा देखिएका छन् । नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुदन किराँती, महेश्वर गहतराज, हरि चौधरी र अमनलाल मोदीबारे माओवादी केन्द्रको शीर्ष तहमा छलफल चलिरहेको छ । यी ७ मध्ये ४ जना मात्रै मन्त्री बन्न पाउनेछन ।
यसअघि नै माओवादीबाट देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल सहभागी भैसकेका छन् ।
केही समयअघिसम्म नेकपा माओवादी केन्द्रमा मन्त्री बन्नेहरूको सूची लामो थियो । धेरै सांसदहरुले मन्त्री बनाउन दबाब दिएपछि अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक कार्यक्रममै मन्त्री बन्न धेरैले दबाब दिएको बताएका थिए ।