मन्त्रिपरिषद् बैठक बस्दै , यी हुन् एजेण्डा
११ असोज काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ। मन्त्रिपरिषद् स्रोतकाअनुसार आजको बैठकले उक्त अध्यादेश फिर्ता लिनेरे निर्णय गर्नेछ। आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा अध्यादेश फिर्ता लिनबारे छलफल भएको थियो।
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका थिए। अध्यादेशमा केन्द्रीय समितिका २० प्रतिशत सदस्य वा २० प्रतिशत सांसदले दल फुटाउनसक्ने व्यवस्था राखिएको छ। अध्यादेशकै कारण सरकार गठन भएको लामो समयसम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। अहिलेकै अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्दा पुन: दल विभाजन हुनसक्ने भय सत्ता गठबन्धनमा आवद्ध दलहरूलाई छ।
यसअघि २०७७ बैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका थिए। तर, आफ्नै पार्टीबाट चर्को दबाब आएपछि फिर्ता लिन बाध्य भएका थिए।