पर्यटन व्यवसाय पुरानै शैलीमा फर्काउन कार्यदल गठन गरिने


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज १४ २०७८
7.4K
SHARES

१४ असोज काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कोभिड–१९ को चपेटामा परेको पर्यटन र रात्रीकालीन व्यवसायलाई पुरानै शैलीमा फर्काउन सरकारले कार्यदल बनाउने बताएका छन् ।  गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि र सम्बद्ध व्यवसायीहरूसमेत सदस्य रहेको कार्यदल बनाएर खोल्दा पर्ने सकारात्मक र नकारात्मक असरबारे बुझाउने प्रतिवेदनका आधारमा अघि बढ्ने गृहमन्त्री खाँणले बताए ।

उपत्यकामा पर्यटनसँग सम्बन्धित व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूसँग मन्त्रालयमा भएको बैठकमा मन्त्री खाँणले व्यवसायको सम्मान राष्ट्रको सम्मान भएको भन्दै पर्यटन र रात्रीकालीन व्यवसायलाई सम्मानित बनाउनु पर्ने बताए ।

उनले पर्यटन व्यवसायीले भोगेको पीडाबारे सरकार जानकार रहेको भन्दै व्यवसायीको पीडामा सरकार संवेदनशील रहेको बताए । कुनै पनि नेपालीको अकालमा मृत्यु हुन नदिनु सरकारको पहिलो प्राथमिकता रहेको भन्दै त्यसमा ख्याल गर्न व्यवसायीहरूलाई आग्रह गरे ।

उनले आफू पर्यटन व्यवसायीको पक्षमा रहेको भन्दै कसरी पूर्णरूपमा पर्यटन व्यवसायलाई पहिलाको जस्तै अवस्थामा फर्काउन सकिन्छ भन्ने विषयमा विश्लेषण गरेर अगाडि बढ्ने बताए ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डेले व्यवसायलाई सुरक्षित बनाउने दायित्व व्यवसायीको भएको भन्दै त्यसमा सरकारले सहयोग गर्ने बताए । जनजीवनलाई सामान्यीकरण गर्न सरकार तयार रहेको भन्दै उनले त्यसमा व्यवसायीले निर्धारित मापदण्ड प्रयोग गरेर सहयोग गर्नुपर्ने बताए । उनले पर्यटन व्यवसाय खुलेपछि बन्द नहुनेगरी सजगता अपनाउन पनि आग्रह गरे ।