सवा ६ अर्ब डलर बराबरको क्रिप्टो चोरी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०८३
209
SHARES

१३ कार्तिक काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्सले साइबर आक्रमणका कारण करिब ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको रकम चोरी भएको बताएको छ । कम्पनीले सम्भावित आक्रमणपछि करिब तीन अर्ब डलर बराबरको रकम रोक्का गरिएको र थप रकम रोक्ने प्रयास भइरहेको जनाएको छ ।

अलजजिराका अनुसार बाइनान्सले बिहीबार निक्षेप तथा रकम झिक्ने सेवा अस्थायी रूपमा बन्द गरेको थियो । कम्पनीको प्रारम्भिक अनुसन्धानमा एक इन्जिनियरको ल्यापटपमा अनधिकृत पहुँच बनाएर कारोबार प्रणालीमा प्रवेश गरिएको र त्यसैमार्फत अनधिकृत कारोबार गरिएको देखिएको छ ।

बाइनान्सले प्रयोगकर्ताको रकम सुरक्षित रहेको र भएको क्षतिको सम्पूर्ण जिम्मेवारी लिने जनाएको छ । कम्पनीले घटनाबारे अनुसन्धान पूरा भएपछि विस्तृत प्राविधिक प्रतिवेदन सार्वजनिक गर्ने बताएको छ । आक्रमणमा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाहीका लागि सुरक्षा निकायसँग सहकार्य भइरहेको जनाएको छ ।

ब्लकचेन अनुसन्धान गर्ने संस्था टीआरएमले उत्तर कोरियाको सरकारी समर्थन प्राप्त ह्याकर समूह ‘ट्रेडरट्रेटर’ आक्रमणमा संलग्न रहेको उच्च विश्वासका साथ आकलन गरेको छ । संस्थाका अनुसार यस घटनाले क्रिप्टोकरेन्सी क्षेत्रमा सुरक्षा जोखिम थप उजागर गरेको छ ।

घटनापछि विश्वकै चर्चित क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य करिब पाँच प्रतिशत घटेर ७७ हजार डलरभन्दा तल झरेको थियो । बजार विश्लेषकहरूले ठूलो कारोबार प्लेटफर्ममा भएको यस्तो घटनाले लगानीकर्ताको विश्वासमा असर पार्न सक्ने बताएका छन् ।

बाइनान्सका संस्थापक तथा प्रमुख सेयरधनी चाङपेङ झाओले पनि प्लेटफर्ममा साइबर आक्रमण भएको हुन सक्ने बताएका छन् । सन् २०२३ मा प्रमुख कार्यकारी अधिकृतबाट हटेका झाओले प्रयोगकर्ताको रकम पूर्ण रूपमा सुरक्षित गरिने अपेक्षा व्यक्त गरेका छन् ।