हतियार विनाको फेरि नयाँ जनयुद्ध गर्नुपर्छ, म हाम्फालेको छु – प्रचण्ड
१५ असोज काठमाडौ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नयाँ जनयुद्धको खोजीमा रहेको बताएका छन् । पछिल्लो समय प्रतिक्रियावादीले माओवादी आन्दोलन र उपलब्धीलाई घेरा हाल्ने, सखाप पार्न खोजिएको भन्दै त्यसको प्रतिरोध गर्न नयाँ जनयुद्धको खोजीमा रहेको उनको भनाइ छ ।
शुक्रबार कमलादीस्थित प्रज्ञा भवनमा सपनाको पाण्डुलिपि गीतिसंग्रह विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘पोहोर सालदेखि माओवादीलाई घेरा हाल्ने र परिवर्तनलाई तोड्न खोजेका छन् । फेरि नयाँ जनयुद्ध गर्नुपर्छ । म हाम्फालेको छु । हतियार र हिंसाबाहेकको नयाँ जनयुद्धको खोजीमा छु ।’
प्रतिक्रियावादीले यसरी घेरा हाल्ने र सखाप पार्न खोज्ने हो भने लाखौं जनता सडकमा ल्याएर लड्नुपर्ने उनको भनाइ छ । ‘सबैले आ-आफ्नो समीक्षा गरौं । समाजवादी आन्दोलनमा इमान्दार भएर लाग्ने हो भने यो देशको मुख्य शक्ति, निर्णायक बनेर हिँड्न सक्छौं । त्यसका लागि हामी सुध्रिन पर्छ,’ उनले भने ।
दाहालले कम्युनिस्ट एकताका लागि नेताहरूसँग छलफल गरिरहेको जानकारी गराए ।
‘हाम्रो आन्दोलन बिग्रेको छ । हामी सबै ठूलो भइयो । किरण, बाबुराम, विलप्व र बादल ठूला भए । को कति पानीमा ओभानो रहेछ भन्ने देखियो । अब आ-आफ्नो ठाउँमा बसेर समीक्षा गरौं,’ उनले भने ।
पहिला भूमिगतमा हुँदा कसैले नाडी छाम्न नपाएको र फुटाउन पनि नसकेको भन्दै शान्ति प्रक्रियामा आएपछि देशीविदेशी प्रतिक्रियावादीले नेतापिच्छे उचालेर फुट ल्याएको उनको भनाइ थियो ।
‘बाहिर आएपछि सबैलाई प्रतिक्रियावादीको गुटले समातेर कुरा लाइदिए । प्रचण्डले तपाइँलाई हेपेको छ, घेरा हालेको छ भनेर साँच्चै सिध्याउन खोजेको जस्तो बनाए । यस्तो भन्ने सामन्त, दलाल, नोकर, विदेशीहरू देखे । सत्य यही हो । प्रतिक्रियावादीले कम्युनिस्ट आन्दोलनमा फुट ल्याए । हामी प्रभावित नभएको भए हुन्थ्यो । कुनै न कुनै रूपमा प्रभावित भइयो । समीक्षा गर्नुपर्छ । फटाहाहरूले कसरी फुटाउनेर रहेछन् ज्ञान प्राप्त भयो,’ उनले भने ।
माओवादी जनयुद्ध विदुपीकरण, भ्रष्टिकरण, विखण्ड र विर्सजन गर्ने षडयन्त्र भइरहेको भन्दै दाहालले त्यसविरुद्ध एकजुट हुनु बुद्धिमानी हुने बताए । ‘नयाँ एकता र रुपान्तरण खोज्ने बेलामा पुगेका छौं । एकताको खोजी गरौं । आत्मसमीक्षाबाट सुरु गरौं । त्यसबाट नयाँ एकता, नयाँ आधार पाउन सक्छौं,’ उनले भने ।
यसका लागि आफूले सबै कम्युनिस्ट नेतासँग सहकार्य गर्न संवाद अघि बढाएको उनको भनाइ छ । ‘हामी सहकार्य गर्नेमा छौं । किरण, विप्लव, बाबुराम, उपेन्द्रसँग नि कुरा भइरहेको छ । मोहनविक्रम जीसँग पनि बढो सौहार्दपूर्ण कुराकानी भइरहेको छ । यसलाई विगार्ने काम नगरौं । यसलाई उचाईमा लैजाने काम गरौं,’ उनले भने ।