मनसुन अझै सक्रिय, भारी वर्षाको सम्भावना
१७ असोज काठमाडौं । नेपालमा मनसुन अझै सक्रिय रहेको छ । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन हालसम्म पनि सक्रिय अवस्थामा नै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
“यस वर्षको मनसुनको बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने देखिएको छ,” मौसम पूर्वानुमान महाशाखाले भनेको छ, “हाल भारतको दक्षिण बिहार तथा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।”
आज राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको पनि संभावना छ ।
भारी वर्षाको पनि संभावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
कन्काई, कमला, वाग्मती र यसका सहायक नदीजलाधार लगायत प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशको चुरे र तराई भई बहने केही स–साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाब हुन सक्ने जनाइएको छ । सोमबार दिउँसोसम्म उल्लेखित नदीहरुका तटीय क्षेत्रहरु तथा डुबान हुने क्षेत्रहरुमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।