बडादसैंः नवरात्रको तेस्रो दिन


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज २३ २०७८
7.4K
SHARES

२३ असोज काठमाडौं । हिन्दु नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदैछ ।देवी भागवत पुराणमा आश्विन शुक्लपक्षका नौ रात्रमा ब्रत बस्ने उल्लेख गरिएको छ ।

नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी तृतीया पर्व मनाईँदै छ ।हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् आजको दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गर्छन ।

घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जल जमरामा राखिन्छ ।यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा (कलश) को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी पूजा गरिन्छ ।

जसमध्ये तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलले भरिएको कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजाआजा गरिन्छ ।

हिन्दु धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् ।यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ ।

आजको दिन पनि सम्पूर्ण देवीदेवता, तीर्थ, पावनी नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजा गरिएको हुन्छ ।पूजा गरिसकेपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ ।

श्रौतयज्ञानुसार पशु बलि र शाकाहारीहरूले प्रदान गर्ने नरिवल, ऊखु, कुभिण्डो आदि स्मार्तबलि गरि दुई प्रकारका हुन्छन ।बलि प्रदान गरिसकेपछि आजको दिनको कार्य समापन गरिन्छ । जमराको रूपमा गहुँ तथा जौको अंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ ।