यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक ३ २०७८
7.1K
SHARES

३ कात्तिक काठमाडौं। नेपालसरकारले प्राकृतिक विपत्तिमा परी मृत्यु भएकाका परिवारलाई राहतस्वरूप रकम दिने भएको छ। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले मृत्यु भएकाका परिवारलाई राहत दिने र घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री बालकृष्ण खाँणले परिवारमा एक जनाको मृत्यु हुँदा दुई लाख र थप अर्को व्यक्तिको पनि मृत्यु भए एक लाख थपेर दिने निर्णय भएको बताए।

घाइतेहरूको निःशुल्क उपचार र राहतको व्यवस्था गर्ने निर्णय पनि भएको उनले जानकारी दिए। प्राकृतिक विपत्तिमा घाइते भएका तथा फसेका मानिसको उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टरले मात्र नपुगे निजी क्षेत्रको हेलिकोप्टर पनि प्रयोग गर्ने निर्णय भएको उनले बताए।

सरकारले हिमाली क्षेत्रमा एउटा घर निर्माणका लागि पाँच लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ। पहाडी क्षेत्रमा चार लाख र तराईमा तीन लाख दिने निर्णय भएको छ। यस्तै, जमिन नभएकाहरूका लागि जमिन खरिद गर्न थप तीन लाख दिने र त्यो पनि सम्भव नभए सरकारले सामूहिक रूपमा आवास निर्माण गर्ने निर्णय भएको मन्त्री खाँणले जानकारी दिए।

किसानका बालीको क्षतिको आकलन र तथ्यांक संकलन गर्ने निर्णय पनि भएको छ। यस्तै, राजमार्गको अवरोध खोल्ने, अवरुद्ध विद्युत् र सञ्चार सेवा सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए।